काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले युवा फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी सुमन श्रेष्ठलाई दिएको छ । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक रहेका सुमनलाई एन्फाले यु–२३ राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
सुमनको नेतृत्वको मनाङले २०७५ सालको लिग जितेको थियो ।
नेपालको यु–२३ फुटबल टिमले मार्चको अन्तिम साता कतारमा एएफसी च्याम्पियनसिप छनोट खेल्दैछ । सोही प्रतियोगिताका लागि एन्फाले सहायक प्रशिक्षकमा सुमनलाई जिम्मेवारी दिएको हो ।
‘बालगोपाल महर्जनलाई सहयोग गर्ने गरि युवा टिमको सहायक प्रशिक्षममा सुमनलाई जिम्मेवारी दिने निर्णय भएको छ ।’ एन्फाका प्रवक्ता किरण राईले खेलपाटीसंग भने ।
उनका अनुसार बालगोपाल र सुमनले एएफसी च्याम्पियनसिपको प्रारम्भिक छनोटसम्मका लागि मात्र जिम्मेवारी तोकिएको छ ।
‘लामो समयपछि एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको छ । म निकै खुसी छु ।’ प्रशिक्षक सुमनले खेलपाटीसंग भने, ‘सन् २००५ मा एन्फा छिरेको थिए । सी, बी, ए हुदै युवा टिमसंग जोडिन पाएको छु ।’
नेपाली टिमको नेतृत्व बालगोपाल महर्जनले गर्नेछन् । मुख्य प्रशिक्षक योहान कालिन राष्ट्रिय टिमको तयारीमा व्यस्त रहदाँ नेपाली युवा टिमको नेतृत्व बालगोपालले गर्ने टुङ्गो लागेको हो ।
नेपालको राष्ट्रिय फुटबल टिमले मार्चको अन्तिम साता मलेसियासंग मैत्रिपुर्ण फुटबल म्याच खेल्दैछ । मुख्य प्रशिक्षक कालिन राष्ट्रिय टिमको तयारीमा व्यस्त हुने भएकाले यु–२३ च्याम्पियनसिप छनोटको जिम्मेवारी बालगोपालले पाएका हुन् । बालगोपालले यसअघि राष्ट्रिय फुटलब टिमको सिनियर टोलीको नेतृत्व गर्दै आएका थिए ।