काठमाडौँ। आरसी ३२ ले विवादित सुमनबहादुर मगर र बबिन बोहरालाई टोलीबाट हटाएको छ। शहीद स्मारक ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबे नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएको भन्दै विरोध गरेपछि आरसी ३२ ले समाज कल्याण स्पोर्ट्स सेन्टरसँग खेल्नुअघि उनीहरूलाई टोलीबाट हटाएको हो।
शुक्रबार ९ क्लबले स्वयम्भू क्लब र सामाजिक यूथ क्लबबीचको खेलमा खेलाडी मैदान उतार्न अस्वीकार गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बैठक राखेको थियो। एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले नियमअनुसार बुझेर निर्णय गर्ने वचन दिएपछि खेल एक घण्टा ढिला गरी खेल शुरू भएको थियो। स्वयम्भूले भने श्री भगवती क्लबमै दर्ता भएको अशोक दर्लामीलाई हटाएर खेल खेल्न सहमत भएको थियो।
लगत्तै, म्याच कमिश्नर सञ्जीव मिश्रले आरसी ३२ लाई पनि विवादमा परेका दुई खेलाडीलाई हटाउन मैखिक रूपमा भनेका थिए। तर, मुख्य प्रशिक्षक गणेश खड्काले भने आफूले नियमअनुसार नै खेलाडी खेलाइरहेको कारण कुनै हालतमा सुमन र बबिनलाई टोलीबाट नहटाउने जिद्दी कसेका थिए। तर, खेल हुन ढिलाइ भएपछि दुई खेलाडीलाई टोलीबाट हटाउँदै आरसी ३२ मैदान उत्रेको हो।