काठमाडौँ। हिमाञ्चल सिंहको गोलप्रेरित रानीवन स्पोर्ट्स क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्टस क्लबलाई बराबरीमा रोकेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सम्पन्न खेलमा रानीवनले गोलबजारलाई १-१ गोलको बराबरीमा रोकेको हो।
गोलबजारका योञ्जन हमालले गोल गरे। यस्तै, रानीवनका हिमाञ्चल सिंहले गोल फर्काए। खेलको १६औँ मिनेटमा योञ्जनले गोलमार्फत गोलबजारले शुरूआती अग्रता लिएको थियो।
तर, पहिलो हाफको अन्तिम मिनेटमा हिमाञ्चलले पेनाल्टीमार्फत गोल गर्दै रानीवनलाई हारबाट जोगाए।
बराबरीसँगै ४ खेलमा ३ अंक जोडेको रानीवन नवौँ स्थानमा उक्लिएको छ। समान खेलबाट २ अंक रहेको गोलबजार पुछारमा छ।