सिमरा। १४औँ जितपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमबार ‘ए’ डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।
सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राति हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा हुनेछन्। दुवै टोली उपाधि जित्दै वर्ष ०८१ को सुखद् शुरूआत गर्न चाहन्छन्।
पुलिस ८ वर्षपछि दोस्रो पटक जितपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मच्छिन्द्र पहिलो पटक उपाधिनजिक पुगेको हो। यसअघि छैटौँ सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।
यता, मच्छिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो। मनाङ मर्स्याङ्दी क्लबसँग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो।
अघिल्लो साता विराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौथो उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ। ०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरी चर्चित खेलाडीहरूलाई टोलीमा अनुबन्धन गरेको मच्छिन्द्रले विराटसहित मकवानपुरको बागमती गोल्डकप र काठमाडौँमा भएको केपी ओली कपको उपाधि जितेको थियो।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरू उपाधि जित्नेमा विश्वस्त रहेको बताए।‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौँ। मोफसलकै प्रतियोगितालाई लक्षित गरी टोली निर्माण गरिएको छ,’ न्यौपानेले भने।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरू वर्षको दोस्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए। वर्ष ०८० को शुरूआतमा वीरगन्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको थियो।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले वर्ष ०८० मा पुलिसका युवा खेलाडीसम्मिलित टोलीले मोफसलका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै जितपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष ०८१ को शुरूआतका लागि आफूहरू उत्साहित रहेको बताए। ‘हाम्रा ऊर्जावान् युवा शक्तिले यस वर्ष सिमरा रंगशालामा इतिहास रच्नेमा विश्वस्त छु,’ प्रशिक्षक घिमिरेले भने।
पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ। दोहोरो पहेँलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन्। शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लिअर गर्दै टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएका थिए।
यता, स्टार खेलाडी विमल घर्तीमगर, मनिष डाँगीसम्मिलित मच्छिन्द्रको टोलीमा भने कुनै परिवर्तन हुने छैन। मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आयुष घलान टोलीमा थपिने सम्भावना रहे पनि निश्चित भने नभएको जानकारी दिए।
यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ। मच्छिन्द्रले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। पुलिसले भने क्वार्टरफाइनलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो।
सिमरा रंगशालामा आइतबार बिहान भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र वाजे दुवैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिन तयार रहेको बताए।
सोमबार राति सिमरा रंगशालाको फ्लड लाइटमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यमा फाइनल खेल हुने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ। तीन वर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रंगशालामा दर्शकको उपस्थिति उत्साहजनक रूपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताए।
जितपुरसिमरा गोल्डकपको हालसम्मका उपाधि विजेता
२०७९ चर्च ब्वाइज युनाइटेड
२०७८ न्यूरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रिभुवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय यूथ क्लब हेटौँडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मर्स्याङ्दी क्लब
२०६८ मनाङ मर्स्याङ्दी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर शहीद स्मृति क्लब