काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्यानहरू आफ्ना स्टार फरवार्ड केलियन एमबाप्पेसँग रिसाएका छन् । किनभने उनले शनिबार मोन्टपेलियरसँगको भिडन्तमा आफ्नो टोलीका लागि काउन्टर-अट्याकको क्रममा दौडन छोडेका थिए ।
पीएसजीका लागि नेयमार र एमबाप्पे दुवैको नाम स्कोरशिटमा रह्यो । खेल ५-२ ले पीएसजीले जित्यो । लियोनल मेस्सी गोलविहीन रहे तर पिचमा फ्रान्सेली फरवार्डको व्यवहारले सामाजिक सञ्जालमा धेरै फ्यानहरूलाई रिस उठाएको छ ।
ग्रोइनको चोटबाट फर्केका एमबाप्पे शनिबार उग्र देखिए । उनले पेनाल्टी मिस गरेका थिए । पछि बक्स भित्र मेस्सीलाई फाउल गरेपछि पीएसजीले अर्को पेनाल्टी प्राप्त गर्यो । मेस्सीले नेयमारलाई सो पेनाल्टी लिन भने । यो कुरा एमबाप्पेलाई मन परेन । यत्तिकैमा एमबाप्पे मेस्सीलाई धक्का दिँदै अगाडी बढे । उनको यस्तो व्यवहारले मेस्सी अचम्मित बनेको भिडियोमा देख्न सकिन्छ ।
एमबाप्पेले नेयमारलाई त्यो पेनाल्टी आफु लिन्छु भन्दै कर गरेको देखियो । तर, नेयमार आफैले त्यो पेनाल्टीलाई गोलमा परिणत गरे । सबै जनाले गोलको खुसीयाली मनाए । तर, एमबाप्पेले मनाएनन । प्रत्यक्ष खेल हेरिरहेका फ्यानहरु उनको आलोचना गर्न थालिसकेका थिए ।
नेयमार यो सिजन प्रभावशाली प्रदर्शन गरिरहेका छन् । यसअघि एमबाप्पे अनुपस्थित हुँदा पनि उनले टिमलाइ डोर्याउदै लगे । पुराना साथी मेस्सीसँग उनको राम्रो लिंक छ । दुबै जना तालमेल मिलाएर खेल्छन । जुन कुरा एम्बाप्पेलाई चित्त बुझ्दैन । पीएसजीमा उनी मेस्सी, नेयमार भन्दा महत्वपुर्ण व्यक्ति बन्न चाहन्छन् ।
ट्वीटरमा एक समर्थक यसरि आक्रोश पोख्छन्,'उनले आफु कोसँग खेल्दैछु भन्ने बिर्सिरहेका छन् । उनी यो पुस्ताकै दुई जना महान फुटबलरसँग खेल्न पाइरहेका छन् । उनीहरुबाट सिक्न सक्छन । तर एमबाप्पेलाई पैसाको मात चढेको छ । घमण्डले उनी मात्तिएका छन् । उनले बिर्सिन्छन् आफ्नो पूरा करियर भन्दा मेस्सी, नेयमारको बायाँ खुट्टा नै धेरै ठुलो छ । आखिर उनमा यति ठुलो घमण्ड सिर्जना हुनुमा स्वयम पीएसजी क्लबकै हात छ ।
पीएसजी फ्यानहरूका लागि एउटै चिन्ता यो हो कि उनीहरूले यूईएफए च्याम्पियन्स लिगमा के गर्छन ! केलियन एमबाप्पेको व्यवहारलाई हेर्दै एक प्रशंसकले यस्तो पनि लेखे, 'पीएसजीले लिग १ फेरि जित्नेछ तर, एमबाप्पेको इगोले उनीहरूलाई च्याम्पियन्स लिगको मूल्य चुकाउनुपर्नेछ।'
फ्रान्सेली रिपोर्टर रोमेन मोलिनाका अनुसार एमबाप्पेले नेयमारलाई सकेसम्म चाँडो हटाउन क्लबलाई आग्रह गरेका छन् । पीएसजी बोर्डसँग एमबाप्पेले गरेको गोप्य अनुरोधको बारेमा नेयमारले थाहा पाएका छन् । विश्वास गरिन्छ कि जब नेयमारलाई आफुविरुद्ध एमबाप्पेको हर्कत थाहा भयो त्यसबेलादेखि यो जोडीको सम्बन्ध बिग्रिएको छ ।
सामाजिक संजाल ट्वीटरमा नेयमारले एमबाप्पे र पीएसजीको आलोचना गरिएका दुई ट्वीटलाई लाइक गरेसँगै सम्पूर्ण विवाद सतहमा आएको छ।
ले पेरिसियनका अनुसार, पीएसजी निर्देशक लुइस क्याम्पोसले भोलिपल्ट एमबाप्पे र नेयमारलाई भेटेका थिए । उनीहरुको पेनाल्टी विवाद सम्बन्धि विषयमा । नेयमार र एमबाप्पेले बैठकको अन्त्यमा स्वीकार गरे । घटना समाप्त भएको थियो । ड्रेसिङ रुममा उनीहरूले एकता देखाउने अपेक्षा थियो ।
एमबाप्पे गत हप्ता प्रशिक्षण मैदानमा खराब मुडमा थिए भनिएको छ । उनका टोलीका साथीहरू कारणबारे अनजान थिए । त्यसपछि शनिबार साँझको खेल पछि रिपोर्ट गरिएको थियो कि एमबाप्पे केहि व्यक्तिगत समस्याहरूसँग जुधिरहेका थिए ।
पिचमा एमबाप्पेको खराब व्यवहारपछि प्रशिक्षकले के भने ?
पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले क्यानल प्लसलाई भने, 'एमबाप्पे प्रतिस्पर्धी हुन् । उनी राम्रो बन्न चाहन्छन् र उनी छिटो राम्रो बन्न चाहन्छन् । उनलाई शतप्रतिशत फिट हुन अलि समय चाहिन्छ । जब ऊ शतप्रतिशत फिट हुन्छ तब उसले अझ धेरै फरक पार्छ।'
प्रशिक्षक कुरालाई टार्न चाहिरहेका थिए । वास्तविकता त यो हो कि पीएसजीमा प्रशिक्षक भन्दा एमबाप्पे शक्तिशाली बनाईदैछन् ।