काठमाडौं । फ्रान्सका पूर्व स्टार स्ट्राइकर थिएरी हेनरीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेले कसैलाई पनि प्रमाणित गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
अमेजन प्राइमसँग कुरा गर्दै हेनरीले एमबाप्पे पहिलेबाटै उत्कृष्ट खेलाडी भएको कारण प्रमाणित गर्न आवश्यक नरहेको बताएका हुन् ।
'यो उसको ठाउँ हो। उसले पक्कै पनि आफ्नो उत्कृष्ट स्तर देखाउनुपर्नेछ जुन उसले सुरुदेखि देखाएको छ। उसले कसैलाई प्रमाणित गर्न पर्दैन,' हेनरीले भनेका छन् ।
फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति मोन्टपिलरविरुद्धको खेलपछि एमबाप्पेको आलोचना भएको थियो । पीएसजीले ५-२ को जित निकालेको खेलमा उनले एक गोल गरेका थिए । तर, उनी सुरुआतमै पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
'प्रशिक्षकले तीन जना मेस्सी, नेयमार, एमबाप्पेलाई खेल्न र तिनीहरूलाई खुसी बनाउनको लागि बाटो खोज्नुपर्छ,' हेनरीले थपे ।
२३ वर्षीय एमबाप्पे बालोन डी'ओर अवार्डको मनोनयनमा रहेका छन् ।
गत सिजन उनले ४६ खेलमा ३९ गोल गरेका थिए ।