काठमाडौं । यो ग्यारेथ बेलको कहानी हो । यो लेख तयार भईरहदा बेलले आफ्नो राष्ट्र वेल्सलाई ६४ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट गराईसकेका छन् । आज हामी ब्रिटिश साम्राज्यका एक महान खेलाडीका बारेमा थाहा नभएका तथ्यहरुको बारेमा कुरा गर्नेछौँ ।
वेल्सको बारेमा भन्ने हो भने, ग्यारेथ बेल स्वतः यो इतिहासको महत्वपुर्ण हिस्सा हुन्छन् । प्ले अफ सेमिफाइनलमा अष्ट्रियाविरुद्धको खेल जिताएपछि उनले १० हप्तामा मुस्किलले २२ मिनेट मात्र फुटबल खेलेका होलान । जहाँसम्म रियल मड्रिडको सवाल छ, उनी पक्कै अब पूर्व खेलाडी बनेका छन् । तर, जब वेल्सको कुरा आउँछ, ग्यारेथ बेल अझै पनि त्यही खेलाडी हुन् जसको उपस्थितिले मात्र पनि वेल्सलाई 'औषत टोली' भन्दा बढी बनाउँछ ।
जोन चार्ल्स वा रायन गिग्स, इभोर अल्चर्च वा इयान रश, यी हस्तीहरु आफ्नो व्यक्तिगत सफलताको लागि प्रख्यात छन् । उनीहरु मध्ये कसैले पनि वेल्स जर्सीमा बढी सफलता हासिल गरेका छैनन् । ग्यारेथ बेलले उनीहरुबाट प्रेरणा लिए । वेल्सलाई युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्म पुग्न र ६४ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट हुन आफैले प्रेरित गरे । नेतृत्व गरे ।
बेलले देशका लागि पछिल्लो ६ वर्षमा जति सफलता हासिल गरे अब भन्न सकिन्छ कि उनी वेल्सका सर्वकालीन महान खेलाडी हुन् ।
ग्यारेथ बेलको पूरा नाम ग्यारेथ फ्र्यांक बेल हो । उनको जन्म १६ जुलाई १९८९ मा वेल्सको राजधानी कार्डिफमा भएको थियो । उनकी आमा डेबि बेल स्थानीय अप्रेसन म्यानेजर थिइन् भने बुवा एक स्थानीय स्कुलमा 'केयरटेकर' को काम गर्थे ।
उनले व्हिचर्चको एग्ल्विस न्यूयड प्राइमरी स्कूलमा पढे । सिक्स ए साइड प्रतियोगिता खेल्ने क्रममा उनलाई ९ वर्षको उमेरमा साउथह्याम्पटनको स्काउट्सले देखेको थियो । कार्डिफ सिटीका पूर्व खेलाडी क्रिस पाइक उनका भतिजा हुन् । बाल्यकालमा बेलको मनपर्ने खेलाडी म्यानचेस्टर युनाइटेड लिजेन्ड रायन गिग्स थिए ।
बेलले उच्च शिक्षा कार्डिफको व्हिचर्च हाई स्कूलबाट लिए । उनी फुटबलमा मात्र नभई रग्बी, हक्की र अन्य खेलकुदमा पनि राम्रो प्रदर्शन दिन्थे । १४ वर्षको उमेरमा ग्यारेथ ११.४ सेकेन्डमा १०० मिटर स्प्रिन्ट दौड्न सक्थे। उनको अचम्मको फुटबल कौशलको कारण, स्कूलको शारीरिक व्यायाम शिक्षक ग्वेन मोरिसले ग्यारेथको लागि विशेष नियमहरू बनाएका थिए । बेलले वन-टच फुटबल मात्र खेल्ने र आफ्नो मनपर्ने बायाँ खुट्टा प्रयोग गर्न नपाउने नियम थियो । व्हिचर्चमा हुँदा, बेलले बाथमा साउथह्याम्प्टनको एकेडेमीबाट प्रशिक्षण लिए । यद्दपी बेलको उचाइको कारणले छात्रवृत्ति दिनुपर्ने हो कि भन्ने शंका उनीहरूलाई थियो ।
बेलले आफ्नो व्यावसायिक करियर साउथह्याम्प्टनका लागि खेल्दै सुरु गरे, लेफ्ट ब्याकको रूपमा । फ्रि-किक विशेषज्ञको रूपमा उनले प्रतिष्ठा प्राप्त गरिरहे । सन् २००७ मा टोटेनहम हटस्परमा गएपछि, उनको भूमिका थप बढ्यो । अब उनी फ्ल्यान्कमा चितुवा जस्तै दौडिन थाले गोलको लागि । चट्टान झैँ अडिक रहेर खेल्ने उनको स्वभाव थियो । उनले घरेलु र युरोपमा दमदार प्रदर्शनको स्ट्रिङ राखे जसले अन्य ठुला क्लबहरूको ध्यान आकर्षित गर्यो । रियल मड्रिडबाट फोन आयो ।
बेल २०१३ मा टोटनह्यामबाट १ सय ११ मिलियन डलर ट्रान्सफर शुल्कमा रियलमा आबद्ध भए । त्यसपछि बाँकी इतिहास बनिसकेको छ ।
उनले स्पेनिस क्लबका लागि २ सय ३८ खेल खेले, १०६ गोल गरे र ६७ असिस्ट दिए । कीर्तिमानी ६ पटक 'वेल्स वर्ष खेलाडी' बनेका बेलले वेल्सको लागि उमेर समूह यू-१७, १९ , २१ मा खेले र सन् २००६ मा सिनियर टोलीको लागि डेब्यु गरे त्योबेला उनी मात्र १६ वर्षका थिए ।
बेलले आफ्नो २७ औं जन्मदिनको अवसरमा प्रेमिका एम्मा रही जोन्ससँग इन्गेजमेन्ट गरे । उनीहरुबीच स्कुलको दिन देखिनै माया प्रेम थियो । उनीहरुका ३ सन्तान छन् ।
बेल आफ्नो लामो कपाल र विशेष स्टाइलले चर्चामा आइरहन्छन । सन् २०१६ को अक्टोबरमा वेल्सले जर्जियासँग १-१ को बराबरी खेलेको थियो । सोहि खेलमा अचानक ग्यारेथ बेलको लामो कपाल खुल्यो र काँधमा फिजियो । त्यहि दिनबाट बेललाई 'टार्जन' उपनामले चिनिन्छ । एक खेलमा बार्सिलोनाविरुद्ध बाँया खुट्टाले जोड सँग शट प्रहार गर्दै विश्व प्रसिद्द गोल गरेका उनलाई त्यसबेला देखि 'द क्यानन' भनेर पनि चिनिन्छ ।
सन् २०१२ को लन्डन ओलम्पिकमा खेल्न उमेरको मापदण्ड पूरा गरेका बेलले मे २०११ मा ग्रेट ब्रिटेन ओलम्पिक फुटबल टोलीका लागि 'म ओलम्पिक खेल्न चाहन्छु' भनेका थिए । उनी १००% वेल्स नागरिक हुन् साथै ब्रिटिश पनि हुन । तर, जुन २०१२ को अन्त्यमा, बेल ढाडको चोटका कारण प्रतियोगिताबाट बाहिरिए ।
बेलले आफ्नो दशक लामो करियरमा 'एडिडास' र 'ईए स्पोर्ट्स' जस्ता धेरै विश्वव्यापी कम्पनीहरूमा लगानी गरेका छन् । उनी लियोनल मेस्सीसँगै ईए स्पोर्ट्सको सबैभन्दा लोकप्रिय खेल, 'फिफा १४' को कभरमा थिए । उनी लगानीबाट वर्षेनी १० मिलियन पाउण्ड कमाउछन् ।
बेलको अर्को मोह गल्फमा छ । गल्फमा उनी तीन वा चारको ह्यान्डिक्याप खेल्छन् । उनले २०२० मा एरिक एन्डर्स लाङसँग मड्रिडको गल्फ सान्टान्डरमा सिक्स-होल खेल खेले । तीन वा चारको ह्यान्डिक्यापको अर्थ वेल्स स्टार औषतभन्दा माथिका एमेच्योर गल्फर हुन् । उनी अझै पनि प्रोफेसनल जत्तिकै राम्रो भने छैनन् ।
'फुटबल मेरो नम्बर १ खेल हो । म यसको लागि समय निकाल्ने गर्छु र म सधैं आफ्नो उत्कृष्ट दिन्छु । गल्फ एक सोख हो जस्तो अरूको पनि सोख हुन्छ त्यस्तै,' बेलले २०१९ मा भनेका थिए ।
बेलको वेल्समा रहेको आफ्नो घरमा तीन प्वालको गल्फ कोर्स छ । यो २०१८ मा निर्माण गरिएको थियो ।
नोभेम्बर २०१९ मा, बेल र उनका अन्तर्राष्ट्रिय टोलीका साथीहरूले 'वेल्स-गल्फ-मड्रिड-त्यस क्रममा' लेखिएको वेल्स झण्डासहित उत्सव मनाउँदै गरेको फोटो सार्वजनिक भयो । त्यसबेला देखि नै मड्रिडको बोर्ड र क्लबका समर्थकसँग उनको सम्बन्ध चिसियो । कालान्तरमा चोटले पनि उनलाई सताउदै गयो ।
बेलले कोभिड महामारीको प्रारम्भिक चरण, अप्रिल २०२० मा वेल्स र स्पेनका अस्पतालहरूलाई १० लाख युरो दान दिएका थिए र आफ्नो देशमा अन्य परोपकारी संस्थाहरूलाई पनि सहयोग गरेका थिए । फलस्वरूप : ग्यारेथ बेल लाई बेलायती महारानीको जन्मदिन अवसरमा फुटबल र परोपकारी सेवाको लागि प्रतिष्ठित एमबीई अवार्ड प्रदान गरियो ।