काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यास सत्रमा दर्शकलाई प्रवेश दिइने भएको छ ।
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादीस्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई अभ्यास हेर्न दिने बताएका हुन् ।
'कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं । नेपाली दर्शकको उपस्थितीले खेलाडीमा हौसला मिल्नेछ,' अब्दुल्लाहले भने ।
नेपाली टोलीले आज सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ ।
कतारको दोहामा १० दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली शनिबार कुवेत सिटी पुगेको हो ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।