इलाम । प्रदेश १ जिल्ला स्तरीय नकाउट फटबल प्रतियोगितामा इलामले भोजपुर र धनकुटाबीचको विजेतासँग खेल्दै सुरुआत गर्ने भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजना र इटहरी फुटबल क्लबको संयोजनमा इटहरी रंगशालामा हुने प्रतियोगिता आगामी जेठ २६ गतेबाट सुरु हुनेछ ।
प्रतियोगितामा इलाम जिल्ला लिग विजेता रेडहर्स फुटबल क्लबले भोजपुरको कोदार फुटबल क्लब र देउराली फुटबल क्लब धनकुटाबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको हो ।
प्रतियोगितामा प्रदेश १ का ११ जिल्लाका लिग विजेता क्लबहरुको सहभागिता रहेको छ । प्रदेश १ मा पहिलो पटक प्रदेश खेलकुद विकास बोर्डले प्रतियोगिता आयोजनाको अवसर पाएको हो ।
यसअघि प्रदेश फुटबल संघले प्रदेश स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।