एजेन्सी । प्रशिक्षक पेप ग्वार्डीओलाले च्याम्पियन्स लिग जित्न म्यान्चेष्टर सिटी सक्षम रहेको बताएका छन् ।
प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुलबिरुद्ध शानदार जित निकालेका प्रशिक्षक ग्वार्डीओलाले एनफिल्ड क्लबबिरुद्ध प्राप्त जितले सिटी च्याम्पियन्स लिग जित्न सक्षम देखिएकाे बताएका हुन् ।
बिहिबार राति ईतिहाद स्टेडियममा सिटीले लिभरपुललाई ४–० ले हराएको थियो । सिटी प्रिमियर लिगको उपाधि होडबाट बाहिरिसकेको छ । तर एफ ए कप र च्याम्पियन्स लिग जित्ने सम्भावना अझै बाँकीनै छ ।
लिभरपुल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट टिम रहेको बताउँदै ग्वार्डीओलाले प्राप्त जितले च्याम्पियन्स लिगको यात्रामा फाईदा पुग्ने बताए ।
प्रिमियर लिगको उपाधिबाट बिमुख भएपनि लिभरपुलले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । गत सिजनको साविक विजेतालाई हराएको सिटीले च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने ग्वार्डीओलाको दाबी छ ।
‘हरेक खेल फरक हुन्छ । तर जसरी हामीले लिभरपुललाई हराएका छौ, त्यसलाई अस्विकार गर्न सक्दिन । फुटबल भावना हो । यो क्षण पनि हो ।’ उनले भने ।
‘कुनै समय तिम्रो सोच उच्च हुन्छ । कुनै समय तल हुन्छ । हामीले सायद विश्वको सबैभन्दा उत्कृष्ट टिमलाई हराएका छौ । त्यसैले हामी गर्न सक्छौ ।’ ग्वार्डीओलाले भने ।
च्याम्पियन्स लिगको क्वाटरफाईनलको तालिका शुक्रबार सार्वजनीक गरिदैछ । तर सिटीले अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल मड्रिडसंग खेल्न बाँकीनै छ । पहिलो लेगको खेलमा सिटीले स्याटियागो बर्नवेउमा २–१ को जित निकालेको थियो ।
दोस्रो लेगको खेलको स्थानको बिषयमा यसै साता टुङ्गो लाग्दैछ । दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियम वा पोर्चुगलमा हुनेछ ।
‘हामी यहाँ खेल्न चाहन्छौ । तर यूईएफएले निर्णय गरेको स्थानमा खेल्नुपर्छ ।’ उनले भने, ‘रियलबिरुद्ध खेल्न निकै उत्साहित छौ । हामी प्रतियोगिताको बादशाहसंग खेल्न जादैछौ ।’