काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा रेफ्रीमाथि खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोप लागेको छ ।
फ्रेन्ड्स क्लब कुपन्डोलका एक अफिसियलले शनिबार रेफ्रीमाथि म्याच फिक्सिङको आरोप लगाएका हुन् ।
लिगको ११ औं चरण अन्तर्गत ललितपुर डर्बीमा जावलाखेल युथसँग १-० गोल अन्तरले पराजित भएपछि फ्रेन्ड्सका अफिसियल अर्बिन सिंहले रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाए ।
'यो सत प्रतिशत मिलेमतो हो । यस्तो मनलाग्दी खेल हुन्छ ? मिलेमतोको फुटबल हो यो । अत्ति भयो ।' खेलपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै सिंहले रेफ्रीविरुद्ध मिलेमतोको आरोप लगाउँदै भने ।
जावलाखेल र फ्रेन्ड्सबीचको खेल फिफा रेफ्री श्रवण लामाले खेलाएका थिए । एसिस्टेन रेफ्रीमा माधव खत्री र राष्ट्रिय रेफ्रीमा बिक्रम चौधरी रहेका थिए । यस्तै फोर्थ अफिसियलमा सुदिश पाण्डे रहेका थिए । खेलको म्याच कमिस्नर लिग निर्देशक संजिब मिश्र थिए ।
खेलपछि असन्तुष्टि जनाएका ब्राजिलियन प्रशिक्षक मार्काेस डान्टास, सहायक प्रशिक्षक शुक्र तामाङ र ब्यवस्थापक रविन ब्यन्जनकार भने पोष्ट म्याच कन्फरेन्समा सहभागी भएनन् ।
उनले रेफ्रीको हाउभाउले खेल मिलेमतो भएको हुनसक्ने बताए ।
'रेफ्रीले आमाको कसम खायो । रेफ्रीले यसरी कस्सम खान्छ,' उनले भनेम, 'कि खेल अघि यो रेफ्रीले खेल खेलाउँदै छ त्यो भन्नु पर्याे । हामी त्यहि अनुसार विरोध गर्छाै ।'
यद्यपि उनले आफुसँग कुनै प्रमाण भने नभएको बताए ।
“प्रमाण त हामीसँग केहि छैन । तर, जसरी खेल खेलायो । खेलाएको हिसाबमा मिलेमतो भनेका हौँ । जे देख्यो त्यहि हो,” सिंहले थपे ।
यस्तै सिंहले रेफ्रीको बिषयमा ४ पटक निवेदन हालिसकेको र हालसम्म कुनै प्रतिक्रिया नआएको बताए ।
सिंहले फिफा रेफ्री कबिन ब्यन्जनकारको नाम लिँदै भने 'मैले कबिन ब्यन्जनकारको बिषयमा चार पटक निवेदन हालिसकेको छु । बीबीसी र थ्री स्टार गरि ४ म्याच भयो । तर कुनै प्रतिक्रिया आउँदैन । हालेपनि केहि हुने हैन ।'
उनले नेपालमा नविन महर्जन बाहेक अन्य रेफ्रीले खेल खेलाउन नसक्ने बताए ।
यस्तै उनले खेलाडीले जावलाखेलविरुद्ध राम्रो प्रदर्शन गर्दा गर्दै पनि रेफ्रीको कारण खेलाडी मनोबल गिरेको बताए ।
'खेल बराबर हो । राम्रो खेलेका हुन् । तर, यस्तो निर्णयले खेलाडीको मनोबल घट्यो,' उनले भने ।
एन्फाले लिगको लागि २० रेफ्रीलाई खेल खेलाउन अनुमति दिएको छ । जसमा १० फिफा रेफ्री र एसिस्टेन रेफ्री रहेका छन् ।
यस अघि अन्य टिमका प्रशिक्षकले पनि रेफ्रीको निर्णयविरुद्ध पटक पटक विरोध गर्दा पनि एन्फाले कुनै निर्णय गर्न सकेको छैन । प्रशिक्षकहरुले रेफ्रीको निर्णयविरुद्ध उजुरी गर्दा कुनै पनि प्रतिक्रिया समेत नआएको गुनासो गर्दै आएका छन् ।