एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले च्याम्पियन्स लिग जित्न क्लबले नयाँ खेलाडी अनुबन्ध गर्नु परिने बताएका छन् ।
फरवार्ड लेवान्डोस्कीले क्लबले लामो समयबाट उत्कृष्ट खेलाडी अनुबन्ध गर्न नसकेको बताउँदै च्याम्पियन्स लगायतका ठुला उपाधिका लागि क्लबले राम्रा खेलाडीहरु अनुबन्ध गर्नु पर्ने बताए ।
'वायर्नले दुई वर्षयता मुख्य खेलाडी अनुबन्ध गर्न सकेको छैन । अब नयाँ खेलाडी अनुबन्धको समय भएको छ,' लेवान्डोस्कीले भने, 'खेलाडी अनुबन्धविना ठुला उपाधि जित्न कठिन छ । शीर्ष तहको खेल खेल्न र शीर्ष तहमा रहन टिम बलियो बनाउनु आवश्यक छ ।'
वायर्नले पछिल्लो पटक सन् २०१३ मा च्याम्पियन्स लिग जितेको थियो । त्यसयता च्याम्पियन्स लिगमा वायर्नको उपस्थिति राम्रो हुन सकेको छैन ।
फरवार्ड लेवान्डोस्कीले फ्रान्क रिबेरी, आर्जेन रोबिन र जेम्स रोड्रिगेजको स्थानमा राम्रा खेलाडी ल्याउनु पर्ने बताए ।
नयाँ सिजनअघि प्रि-सिजन तयारीका लागि वायर्न हाल अमेरिकामा रहेका छन् ।