जीवन गर्भदेखि चिहानसम्मको ‘म्याराथन’ हो । तथापि सदैव दौडिइरहने विरलै हुन्छन् । सहरमा यस्ता धावक छन्, जो आमृत्यु नथाक्ने भीष्मप्रतीज्ञामा छन् । र, आधा शताव्दी दौडेरै पार गर्ने ध्याउन्नमा छन् ।
देशको सीमारेखाभन्दा कहाँ हो कहाँ फराकिलो हुन्छ खेलको क्षितिज । त्यही आयातनलाई खुट्टाले नाप्ने वैशिष्ट्य धावक हुन्— बैकुण्ठ मानन्धर । र, सगरलाई माथ गर्ने किसिमको छ उनको खेल–कद ।
एक बिहान, रंगशालाको पूर्वतिरको खाली मैदानमा भेटिए मानन्धर । चराचुरुङ्गीको कूजनमा पुर्राए । आफ्ना खेल अनुभूतिका पोको पन्तुरो फिँजाए ।
जीवनको दुईतिहाइ समय दौडिएरै व्यतीत गरेका मानन्धरका खुट्टा अद्यपर्यन्त थाकेका रहेनछन् ।
‛दौडन नै धन, दौड नै जीवन हो मेरो त,’ ओठमा बिहानीको आभा फक्रियो । चौरमा एकछिन सुस्ताए । केही क्षणमा शरीरमा नूतन ऊर्जा थपियो । र, क्रमशः अनुहारमा उद्घाटित् हुँदैगयो ।
काठमाडौँ, कालिमाटीका रैथाने मानन्धर । प्रजातन्त्र आएको दुई सालपछि जन्मिए उनी, बैकुण्ठ चतुदर्शीका दिन । बैकुण्ठ चतुर्दशीका दिन जन्मिएकाले नामै बैकुण्ठ रहन गयो उनको । मिथकीय मान्यतानुसार भगवान् विष्णु वैकुण्ठ लिन् भए । उनीचाहिँ धर्तीमा पदार्पण ।
विक्रमको १९०८४ सालतिर जन्मिएका पिताजी । जहानियाँ राणा शासन । परिवर्तनको तीव्र चेत मुखर थियो । तर, खुलम्खुला अभिव्यक्ति दिन नपाइने । लुकिछिपी राणाविरोधी हर्कत गर्न थाले । राणालाई कहाँ पाच्य हुन्थ्यो र । कयौँपटक जेलको हावा खाए । पाखुरामा नेलसमेत ठोकियो । गाथगादी ताकेको महसुस भए झुन्ड्याइँदा हुन् । कसुरदार ठहर नभएपछि निस्किन्थे पिताजी ।
खेतपाती धेरै नभएकाले विक्रम् सम्वत् २००० को शुरूवातीतिर हजुरबाले चियादोकान र भट्टी पसल एकसाथ शुरू गरेका थिए । नेपालमा चिया पसल शुरू गर्ने दोस्रो व्यवसायी हुन् उनीहरू । पहिलो न्युरोडको नेपाल होटललाई मानिन्छ ।
चिया पिउनेका चलनको थालनीबारे रोचक इतिहास उधिन्छन् उनी । प्रथम विश्वयुद्धमा सहभागी हुन् गएका नेपालीले चिया खाने चलन आफूसँगै ल्याए । विश्वयुद्धबाट फर्किएर आएका ‘लाहुरे’हरूले घरमै पकाएर चिया खान्थे । त्यसलाई व्यापार व्यवसायको अंग बनाउने श्रेयचाहिँ मानन्धर परिवारलाई नै जान्छ ।
चिया पसल, राजनीतिक गफगाफ गर्ने थलो पो बन्यो । तीनै सहरका मानिस भेला हुने । चियाको चुस्कीसँगै राजनीतिक गतिविधिलाई तीव्रता दिने । राणाहरूले पसलै बन्द नगराए पनि बाबुलाई निकै धरपकड गरे । ताडना दिए । पछि प्रजातन्त्र आयो । बाबुले दुःख पाउन छाडे । र, त्यही चिया पसलमा भाँडा माझेर हुर्किए बैकुण्ठ ।
त्यतिबेला पठनपाठन संस्कृति झाँगिइसकेको थिएन । तीव्र राजनीतिक चेत, शिक्षाको बढिया सोचका कारण विद्यालय भर्ना भए उनी । शान्ति निकुञ्ज स्कुल, नेपालकै पहिलो सहशिक्षालय थियो । भर्खर प्रजातन्त्र आएको । परिवर्तनको बाटोमा बामे सर्दै थियो मुलुक भनौँ ।
पहिलो गुरु आमा थिइन् । घरमै धुलेटोमा कखरा सिकाइन् । सावाँ अक्षर खुट्याउन सक्ने भएकाले एकैपटक कक्षा चारमा भर्ना भएको घुर्मैलो सम्झना छ उनलाई ।
स्कुलमा अपांगता भएका शिक्षक थिए, इन्द्रलाल गुरुवाचार्य । बडा तिलस्मी र अद्भुत स्वभावका । अपांगता भएकाले हिँडडुल गर्न नसक्ने । तर, विद्यार्थीलाई दौडन लगाउने । रूख चढ्न हौस्याउने । पर्खाल नाघ भन्ने । अनौठो स्वभावका थिए ।
अतिरिक्त क्रियाकलापमा अब्बल थिए, बैकुण्ठ । तिनै शिक्षकको उत्प्रेरणा पाएर होला उनमा दिनपरदिन दौडने क्षमता बढ्दै गयो ।
स्कुल राजनीतिक गतिविधिको केन्द्र थियो । शुक्रराजकी बहिनी पनि आजजाउ गरिरहन्थिन् । ‛शायद राजनीतिक गतिविधि हुँदो हो, हामी केटाकेटीले के थाहा पाउनु र ?,’ अनभिज्ञता प्रकट गर्छन्, बैकुण्ठ ।
गुरुवाचार्यको शिक्षा पद्धति आदिम थियो, ठ्याक्कै गुरुकुल प्रणाली । ठूलालाई आदर गर्ने, सानाको गुणको कसरी कदर गर्ने, उनका पाठ्यवस्तु थिए । पठनपाठनका अलावा अनेक नैतिक दृष्टान्त पस्कन्थे उनी ।
शिक्षामा औसत उनी, दौडमा अब्बल बन्दै गए । “सानामा दौडन उस्तो क्षमतावान
होइन । तर, तिनै अपांगता भएका शिक्षकले लङजम्प, हाइजम्पलगायतको विधामा पारङ्गत बनाउँदै लगेपछि उम्दा धावक बनेँ,” अहिले सम्झन्छन् र शिक्षकप्रति कृतज्ञ हुन्छन् उनी ।
तिनताक अहिलेजस्तो समय थिएन । नाच्नेगाउनेलाई गिताङ्गेको उपमा दिइन्थ्यो भने दौडने, उफ्रनेलाई त सीधैको फन्टुसको पगरी गुथाइहालिन्थ्यो । ‛गाउँलेको नजरमा कति काम नलाग्ने बालखको उपाधि पाएँ, पाएँ,’ मन अझैँ अमिलिन्छ उनको ।
विक्रम सम्वत् २०२५ सालमा तीनै सहरलाई दौडमा उछिने उनले । तिनताक उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर)व्यापी दौड स्पर्धा (अन्तरविद्यालय स्तरीय एथलेटिक्स) भएको थियो । मानन्धरले उपाधि चुमे ।
शिक्षा मन्त्रालयको आयोजना उपत्यकाका मुख्यमुख्य विद्यालय सहभागी थिए । टुँडिखेलमा ट्र्याक बनाएर १५ सय मिटर दौडाएका थियो ।
त्यसबेलासम्म सेन्ट जेभियर्सको एकछत्र राज थियो । सरकारी विद्यालयका छात्रछात्रा सहभागी हुन्थे तर जहिल्यै उपाधिविहीन् ।
सेन्ट जेभियर्सदको दबदबाबाट आहत् बनेका विद्यार्थी सबै मिलेर सल्लाह गरेछन्– ‘यिनीहरू जहिल्यै जित्छन् । यसपटक बैकुण्ठलाई प्रथम बनाऊँ । हामी प्रतिस्पर्धामाचाहिँ भाग लिउँ, सेन्ट जेभियर्सलाई उछिन्नमात्रै नदिऊँ ।’
नभन्दै रणनीतिक रूपमा सफल भए उनीहरू । बैकुण्ठले उपाधिमा कब्जा जमाए । सेन्ट जेभियर्स रित्तो हात घर फर्कियो ।
‛सेन्ट जेभियर्सका विद्यार्थी त्यतिबेला पनि जुत्तामोजा, टिपटप लुगा लगाएर आउँथे । फररर्र अंग्रेजी बोल्थे । ईष्र्याले भुतुक्कै थिए शान्ति निकुञ्ज, पद्मोदयलया सरकारी स्कुलमा पढ्ने विद्यार्थी, त्यसैले जसरी पनि हराउने रणनीति लिए,’ उनी अहिले सम्झन्छन् ।
२०२७ सालमा पनि सेन्ट जेभियर्सलाई हराउन यस्तै अस्त्र प्रयोग गरे । त्यतिबेला दौडमा उपत्यकास्तरीय रनिङ सिल्ड प्रतियोगिता आयोजना भएको थियो । एक प्वाइन्टले अगाडि थियो सेन्ट जेभियर्स, थोरै पछि थियो पद्मोदय । दौडमा जिते पनि सिल्ड हात नपर्ने भएपछि पद्मोदयलाई जिताउन मुख्य भूमिका खेले बैकुण्ठले । पहिलो, दोस्रो ट्र्याकमा सबैलाई उछिनेका बैकुण्ठले फिनिसिङ लाइनमा पद्मोदयलाई जिताइदिए ।
त्यसपछि सेन्ट जेभियर्स प्रतियोगिताबाट क्रमशः ओझेल पर्दै गयो । अन्ततः विलुप्त भयो ।
‛खेलमा यस्तो रणनीति अत्यावश्यक हुन्छ,’ फेरि हाँस्छन् बैकुण्ठ ।
०२८ सालमा राष्ट्रिय च्याम्पियनसिप आयोजना भयो । तिनताक नेपालमा प्रशिक्षक थिएनन् । बाहिरबाट झिकाउनुपथ्र्यो । नेपाल–भारत सहयोग मिसनअन्तर्गत भारतबाट विद्यासागर नामका प्रशिक्षक ल्याइयो । जुद्धोदय, पद्मोदय, शान्ति निकुञ्जलगायत उपत्यकाका प्रमुख विद्यालयका दौडमा उत्कृष्ट भएका विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो त्यसबख ।
६ महिनामै अब्बल भए उनीहरू । राष्ट्रिय च्याम्पियनसिपमा सबै विधामा उनीहरूले एकलौटी जित हात पारे । सेना, प्रहरीसमेत उपाधिविहीन् बन्नुप¥यो ।
सरकारी सञ्चारमाध्यम गोरखापत्र थियो । त्यसले प्रतियोगिताबारे खासै प्राथमिकता दिएन । सेना–प्रहरी अधिकांश विधामा पराजित भएको पीडाको प्रतिच्छाया उसलाई पनि प¥यो, शायद ।
निजीस्तरबाट छापिने पत्रिका मातृभूमिले ‘चिया पसलेको छोरो राष्ट्रिय च्याम्पियन !’ व्यहोराको समाचार छापेछ ।
यत्रो प्रतियोगितामा जितेको छु, ‘गिलाँस माझ्नेको छोरो’ भनेर होच्याउँछ । कुनचाहिँ रहेछ यसको सम्पादक । कन्सिरीका रौँ ताते बैकुण्ठका । भर्खर उपाधि चुमेको तातो रगत । आजै ठेगान लगाउँछु भन्दै सम्पादकको झाँको झार्न उनी मातृभूमिकै कार्यालयमा पुगे ।
‛कसले लेखेको हो यो समाचार ? राष्ट्रको खेलाडीलाई चिया पसलेको छोरो भन्ने ?’ बम्किन थालिहाले उनी ।
तर मातृभूमिका पत्रकार आवेशमा आएनन् । बरु सम्झाएर पठाए, ‘यो पटक यस्तै भइहाल्यो । अर्को पटक सच्याउँला । हामी यो समाचार लेख्नेलाई सम्झाउँछौँ । तपाईं सुर्ता नगर्नुहोस् । बरु अझै राम्रो गर्दै जानूस् ।’
मुर्मुरिँदै फर्किए उनी ।
‘चिया पसल गर्ने, सामान्य परिवारको छोरोले पनि यत्रो सफलता हात पार्न सक्छ !,’ पत्रिकाले राम्र्रै लेखेको रहेछ । समाचार प्रकाशित भएपछि देशव्यापी चर्चा चुलियो । पछि पो झल्याँस्स भए । रिसको आवेगमा धन्न केही गरेनछु । थकथकी लाग्यो उनलाई ।
०३३ सालको ओलम्पिक प्रतियोगितामा खेलाडी छनौट भयो । तिनताकसम्म धावनमा सेनाको दबदबा थियो । जितबहादुर केसीले सधैँजसो स्पर्धा जित्थे । जितबहादुरलाई पछि पार्नु फलामको च्युरा चपाउनु मानिन्थ्यो तिनताक ।
तर, उनले सजिलै जितबहादुरलाई उछिने ।
सनसनी मच्चियो— सिविलियन केटो ओलम्पिको ट्र्याकमा राष्ट्रिय झन्डा बोकेर दौडने भयो ।
राष्ट्रको ढुकुटी खर्चिएर पालितपोषित गरेको खेलाडीलाई सामान्य युवकले पछि पार्यो र ओलम्पिकमा राष्ट्रिय ध्वजा बोकेर जाने भयो, पञ्चायती शासकलाई पाच्य भएन त्यो ।
सरकाले पत्रसमेत तयार गरिदिएन । ओलम्पिक क्यानाडामा आयोजना भएको थियो । प्रशिक्षण अमेरिकामा गएर गर्नुपथ्र्यो । दूतावास कहाँ छ ? भिसा प्रक्रिया के हो, पूरापूर अनभिज्ञ थिए उनी ।
सोध्दैखोज्दै अमेरिकी कन्सुलर शाखा गए उनी, दरबारमार्गछेऊ । यस्तो झुत्रेझाम्रे पनि ओलम्पिक खेलाडी हुन्छ ? पत्याउँदैपत्याएन कन्सुलर शाखाले । तीनदिन धाएपछि बल्लतल्ल राजदूतसँग भेट भयो । उनले भनिहाले, ‛म ओलिम्पिक खेलाडी, तालिमका लागि अमेरिका जानुप¥यो ।’
शुरूमा त उनले पनि पत्याएका थिएनन् तर नेपालका अधिकारीहरूलाई सोधेपछि थाहा लागि हाल्यो उनी ओलम्पिकका लागि छनौट भएका खेलाडी हुन् । दूतावासका कर्मचारीले बल्ल रेस्पोन्स गरे ।
तिनताक ‘पिपल्स टु पिपल्स’ भन्ने अमेरिकी संस्था थियो । त्यसैमार्फत राजदूतले जहाजको टिकट लिइदिएछन् । अमेरिका पुगिहाले उनी ।
अमेरिका पुगेर क्यानडाको भिसा लगाउन खोज्छन् । कन्सुलर शाखाको कर्मचारी भन्छ, ‛अमेरिका त आइस् तँ अमेरिकन खेलाडी भन्ने के छ त प्रमाण ? खै कागजात ?’
कसको सहयोगमा अमेरिका आएको त्यो पनि उनले बिर्सिए । ओलम्पिक दौडमा भाग लिन प्रशिक्षणका लागि अमेरिका गएको विमानस्थलमा भोकभोकै अलपत्र पो परे उनी ।
दिनभरि पर्खंदा पनि ‘रिसिभ’ गर्न मानिस नआएपछि अध्यागमनका कर्मचारीले फर्काउने पक्रिया पो शुरू गर्न थाले । राष्ट्रको झन्डा र प्रतिष्ठा बोकेर ओलम्पिकमा सहभागी हुन गएको कसरी फर्कनु ? उनले नफर्कने अड्डी कसे ।
हैरान भएपछि दूतावासका कर्मचारीले अमेरिकाका लागि नेपाली उपाध्याय थरका अधिकारी बोलाएर सोधपूछ गरे । उनले पनि मूर्त जवाफ दिन सकेनन् । बैकुण्ठ ओलम्पिकमा छनौट भएकोबारे अनभिज्ञ रहेछन् उनी पनि ।
अन्तिममा विमानस्थका कर्मचारी सोधपुछ गर्न थाले, ‘तँसँग कति पैसा छ ?’
राहदानीमा सय डलर उल्लेख थियो । पासपोर्टमा कम्तीमा हजार डलर हुनुपर्ने रहेछ । उनलाई कसरी थाहा होस् ?
समस्या पर्न सक्छ भनेर उनले झोँछेबाट तीन सय डलरसमेत साटेर लगेका थिए । त्यही देखाइदिए उनले ।
‘पासपोर्टमा सय डलरभन्दा लेखेको छैन, तर तँसँग यत्तिका पैसा रहेछन,’ झन् शंका पो गर्न थाल्यो ।
नेपालबाट ओलम्पिक खेल्न आएको खेलाडी अमेरिकी विमानस्थलमा अलपत्र । त्यहाँको समाचारमाध्यमले खबर प्रशारण ग¥यो । बेलुकीपख अमेरिकाकै एकजना प्रतिष्ठित मानिस ‘म स्पोन्सर गर्छु’भन्दै आए । ढुंगा खोजेका थिए तिनले, साक्षात् देवता प्रकट भए । उनैको साथ लागेर गए ।
विकास र प्रविधिमा सबैलाई पछि पारेको देश । सबै कुरा अत्याधुनिक । बैकुण्ठसँग न भनेजस्तो लुगाफाटो थियो । एकसरो गन्जी कट्टुमात्र । न राम्रोसँग अंग्रेजी उच्चारित नै हुन्थ्यो । रहनसहनमा गगनजमिनकै अन्तर भएपछि उनले ती अमेरिकी नागरिकलाई दुखेसो पोखे— मलाई त यहाँ केही पनि मिलेन, बसाइ पनि राम्रो भएन, चित्त बुझेन मलाई !
आठदिन बस्न आठ वर्ष बिताउनभन्दा कष्ट भयो उनलाई ।
सहरभन्दा बाहिर कर्नल विश्वविद्यालय रहेछ । त्यहीँ प्रशिक्षण लिने । विश्वविद्यालय नजिकैको घरमा बस्ने प्रवन्ध गर्न गरी तिनै सहृदयीले त्यहाँ पुर्राईदिए ।
संसारकै नामी विश्वविद्यालय रहेछ त्यो । ओलम्पिक खेल्न आउने विद्यार्थी अभ्यास गर्न आएको । विश्वविद्यालयभरिका विद्यार्थीको आकर्षणको केन्द्र बने उनी । गन्जी र टेन सुजको भरमा उनी बिहान उदायचलदेखि दौडिन्थे । दिनहुँ ५० राउन्ड ट्र्याकमा दौडन्थे र त्यही गन्जीले पुछपाछ पारेर आफूलाई ओतदिने नागरिककै गाडीमा फर्कन्थे ।
‛दौडिएपछि नुहाउनुपर्छ भन्नेसमेत थाहा थिएन मलाई । तिनै अमेरिकी नागरिकले सिकाइदिए,’ फुरुंग हुँदै सुनाउँछन् उनी ।
तिनताक नै अमेरिकामा बस्ने नेपालीको दुःखका साक्षी बन्ने मौका पाए । अभ्यासकै दौरानमा नेपालबाट अध्ययनका लागि अमेरिका पुगेका विद्यार्थीसँग भेट भयो । खानाको निम्तो पाए उनले ।
नेपाली विद्यार्थीहरूको बसाइ अत्यन्त कष्टपूर्ण रहेछ । ६–७ दिनको बासी दालभात फ्रिजमा राखेर खाँदा रहेछन् । आफूले दिगमिग मान्दै खाएको क्षण हिजैजस्तो लाग्छ उनलाई ।
दुःखका अनेक रूपसँग परिचय पाएका बैकुण्ठले सबै अनुभवलाई धावनकै ऊर्जामा क्रमशः बदले ।
नेपाल देश छ भन्नेसमेत थाहा रहेनछ ती नागरिकलाई । ‘माउन्ट एभरेष्ट’ थाहा रहेछ तर नेपालमै पर्छ र भन्दै अनभिज्ञता प्रकट गर्थे । बरु ‘हिप्पी’हरू छन् भन्नेचाहिँ सुनेका रहेछन् ।
‛नराम्रो कुराचाहिँ संसारभर कतिछिटो फैलन्छ हगी ?’ अनुहारमा आश्चर्यभाव फैलन्छ ।
साढे दुई महिनाको अविच्छिन्न अभ्यासपछि ओलम्पिक स्पर्धाका लागि क्यानडा उत्रिए । नेपालबाट तत्कालीन शाहज्यादी, राजपरिवारका सदस्य र उनलाई आश्रय दिने अमेरिकी नागरिक पनि गएका थिए । अमेरिकी नागरिकलाई प्रशिक्षक भन्दै लगेका थिए तर उनले प्रवेश पाएनन् ।
बीबीसी, जर्मन ब्रोडकास्टिङ, विश्वका लब्धप्रतिष्ठित समाचारमाध्यममा सवत्र फैलिए उनी । पत्रकारहरू आउँथे र तलदेखि माथिसम्म नियाल्दै प्रश्न गर्थे, ‘यस्तो जुत्ता लगाएर पनि दौडिन्छौ तिमी ?’
‛जुत्ताले दौडने हो र ? स्टामिना चाहिन्छ,’ उनको जवाफ सुनेर अवाक् हुँदै फर्कन्थे ।
दौडको स्पर्धा हुँदा तीनचार जना सुरक्षाकर्मी अघिपछि लगाइयो । दौड पूरा गर्न सक्छ कि सक्दैन भन्ने संशय रहेछ । कदाचित् दौड पूरा नगरे मोटरसाइकलमा, एम्बुलेन्समा राखेर ल्याउनु भनेका रहेछन् ।
तर, जब उनी २० किलोमिटर, २५ किलोमिटर क्रमशः पार हुन्थे, हौस्याउँदै जान्थे सुरक्षा स्वयम्सेवकले
दौड पूरा गरेर स्टेडियमभित्र प्रवेश गरे । द्रविभूत भए उनी । रंगशालाभरिका मानिस जुरुक्क उठे । आफ्नो सम्मानमा टाउको झुक्दा नेपालको शिर सगरमाथाभन्दा उँचो भएको प्रतीत भयो उनलाई ।
२ घन्टा ३० मिनेट ७ सेकेन्डमा ओलम्पिक दौड पूरा गरेर ५० औँ भए उनी । तर मानसम्मानचाहिँ प्रथम हुनेलाईभन्दा ज्यादा मिल्यो । वास्तवमा त्यो नेपालप्रतिको विश्वदृष्टिकोण थियो ।
नेपालको राष्ट्रिय ध्वजा बोकेर चारपटक ओलम्पिकको धावनमार्गमा दौडिएका बैकुण्ठ एसियाकै ‘लेजेन्ड’ बने ।
सन् १९७६ मा क्यानाडकाको मोन्ट्रियलबाट ओलम्पिक स्पर्धामा भाग लिन थालेका उनले चार संस्करणसम्म भाग लिए । सन् १९८० मा मस्को, सन् १९८४ मा अमेरिकाको लसएन्जलस र सन् १९८८ को कोरिया ओलम्पिकमा नेपालको झन्डा बोकेर सहभागिता जनाए ।
दौडँदाताककै एउटा रोचक घटना उनको मथिङ्गलमा छ । विक्रम सम्वत् २०३० को शुरूवात् हुनुपर्छ । उतिसाह्रो सम्झना छैन । फिलिपिन्समा एसियन ट्र्याक एण्ड फिल्ड च्याम्पियनसिप प्रतियोगिता आयोजना भएको थियो । नेपालबाट बैकुण्ठ र जीतबहादुर केसी सहभागि हुन गएका थिए । जीतबहादुर निकै उम्दा खेलाडी थिए । पदकको प्यासी बैकुण्ठले प्रतियोगितामा कुनै हालतमा उपाधि जितिछाड्ने रणनीति लिए र ट्र्याकमा दौडिए ।
फिलिपिन्सको मध्याह्नको टन्टलापुर घाम । आकशमा उडेका चरा फुत्त भुइँमा झर्लान्जस्तो । धेरै धावकले दौड पूरा गर्नै सकेनन् । ट्र्याक छाडे अधिकांशले । शुरूमा वेपत्तासँग दौडिएका बैकुण्ठ बीचमा रोकिए र दायाँबायाँ हेरे । अचम्म ! कोही प्रतिस्पर्धी अघिपछि छैनन् । केही बेरपछि जीतबहादुर आइपुगे । आफूभन्दा अघि पठाइदिए उनलाई । प्रतिस्पर्धामा जीतबहादुर तृतीय भए । उनी पाँचौँ । नेपालका लागि जीतबहादुरले हासिल गरेको पहिलो अन्तर्राष्ट्रिय पदकसमेत हो त्यो ।
‛शुरूमा जीतबहादुर प्रथम हुन्छन् जस्तो लागेको थियो तर जापानी स्पर्धी कहाँबाट आए, आए, अन्तिममा उनीहरू पो प्रथम भए,’सम्झन्छन् बैकुण्ठ ।
तिनताको अर्को घटना पनि याद छ । बैकुण्ठसँग पाँच रुपैयाँ पर्ने टेन सुज थियो भने जीतबहादुरसँग त त्यो पनि रहेनछ । खाली खुट्टा ट्र्याकमा दौडिए ।
८० को दशका एथलेटिक्सको पर्याय बनेका बैकुण्ठको उपमा थियो— साझा बसभन्दा छिटो दौडने ।
कालिमाटीबाट दौडिएरै साझा बस उछिन्दै महाराजगञ्जसम्म पुग्थे उनी । “मलाई साझा बसले भेट्न सक्दैनथ्यो । ओह्रालो पायक पर्दा त धेरैबेर पर्खिएर बस्नुपथ्र्यो,” पुलकित हुँदै कुराकानीमा प्रविष्ट हुन्छन् उनी ।
मेची—महाकाली र काठमाडौँ—मुक्तिनाथ दौडेरै पूरा गरेका ‘लेजेन्ड’ धावक बैकुण्ठ मानन्धरले करिअरको उत्कर्षमा विरलै गाडी चढ्थे । उपत्यकाभित्रमात्रै होइन उपत्यका आसपासका जिल्ला र कहिले त टाढाटाढा पनि, दौडँदै प्रमुख आतिथ्यता ग्रहण गर्न पुग्थे ।
एथलेटिक्सप्रति उनको निष्ठा र लगाबबाट अभिभूत भए तत्कालीन श्री पाँचको सरकारले उनको नाममा हुलाक टिकट प्रकाशित गर्ने योजना बनायो तर राजनीतिक तहबाट तीव्र विरोध भयो । कोपभाजनको सिकार भए ।
‘ओलम्पिकमा सहभागिमात्रै भएको छ किन छाप्ने हुलाक टिकट ?,’ अमुक राजनीतिक दलले प्रतिवाद गरेपछि श्री पाँचको सरकार उनको तस्बिर अंकित रंगिन टिकट छाप्न पछि हट्यो ।
‘जनस्तरबाट आएको यस्तो उम्दा खेलाडी । राज्यले संरक्षण नगर्ने हो भने खेलकुद क्षेत्र कहाँबाट उँभो लाग्छ त ?,’ तत्कालीन श्री पाँच वीरेन्द्रले उनको धूमिल चित्र अंकित श्यामस्वेत टिकट छापी छाडे ।
नेपालको खेलकुद क्षेत्र पछि पर्नाको कारण यस्तै भएको पहिल्याउँछन् उनी— राजनीतिक खिचातानी ! र त, आज पर्यन्त खेलकुल क्षेत्रले अघि बढेको आभास गर्न पाएको छैन । खेलकर्मीहरूको निष्ठा पनि कहाँ बैकुण्ठ मानन्धरकोजस्तो हुनु ?
एथलेटिक्सलाई जीवनको दर्पण बनाएका बैकुण्ठ एकताका चरम आर्थिक संकटमा परे । ०३५ सालको अन्तिमतिर हुनुपर्छ, आमालाई अबुद्र्ध रोगले च्याप्यो र अस्पतालमा शैय्यामा पुगिन् । याचना गर्दा पनि कतैबाट सहयोगको थोपोछिटो जुटेन ।
बरु सेनाले सहयोगको हात बढायो र जागिर दियो । तिनताक पनि खेलमा चरम राजनीति थियो । खेलाडीहरू दाउपेचको सिकार हुन्थे ।
सेनामा भर्ती भएसँगै उनले त्यहाँ पनि क्षमता मुखरित गर्दै गए । प्रतिस्पर्धामा अरू बाहिनीलाई पदक सुँघ्नै दिएनन् । परिणामस्वरूप त्यहाँबाट पनि निकालिए उनी ।
त्यही बीचको एउटा दुःखद् घटना स्मरण गर्छन् उनी । आमा बिरामी भएकै बखत् राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन पाएका थिएनन् । खेल्न छाडेजस्तो भयो भनौँ । यही कारण देखाउँदै ०३८ सालको राष्ट्रिय प्रतियोगितामा उनलाई नखेलाउने निधो गरियो । उनले अनुनय नगरेका होइनन तर कतैबात सुनुवाइ भएन । बरु, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाकिस्तान पठाइए, १० किलोमिटर दौडमा द्वितीए भएर आए ।
सन् १९८३, सन् १९८५ र सन् १९८७ को दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ्)मा लगातार तीन स्वर्णपदक जित्ने एक्ला धावक हुन् उनी । र, उनको दाँजोमा विरलै खेलाडी पुग्छन् ।
सन् १९८७ मा भारतको कोलकाताका सम्पन्न तेस्रो साफमा बैकुण्ठले राखेको दुई घन्टा १५ मिनेटको रेकर्ड अद्यपर्यन्त कसैले तोड्न सकेको छैन ।
अहिलेसम्म साफ्को १२ औँ संस्करण समाप्त भइसक्यो । तर, ३१ वर्षको अवधिमासमेत उनलाई उछिन्ने कोही निस्किएनन् ।
तर पटक्कै खुसी छैनन् बैकुण्ठ । बरु भन्छन्, ‛नेपाली खेलकुलको दुर्भाग्य हो यो, यहीँबाट अनुमान गर्न सकिन्छ, नेपाली एथलेटिक्स कहाँ छ ?,’
नेपाली खेलकुदको दूरावस्था देख्दा मुटु निचोरिएर आँखाबाट तप्प आँसु चुहिएलाझैँ हुन्छ उनको ।
विक्रम सम्वत् २०४४ सालमा खेलक्षेत्रबाट सन्यास लिए पनि दौडको न्यासीमात्रै होइन अझै प्यासी छन् उनी । बिहान दैनिकजसो दुई घन्टा दौडन्छन् र बेलुकापख पनि रंगशालामा टहलिन आइपुग्छन् । आउँदो साल (विक्रम् २०७६) उनले दौडमै स्वर्णजयन्ती मनाउँदैछन् ।
अझै कतिञ्जेल दौडने त ?
‛जीवन आखिर भागदौड नै त हो, दौडँदादौडँदै अस्ताउने रहर छ !,’ दार्शनिक प्रतिउत्तरसँगै कुराकानीको लामो पयो गाँठो पारे उनले ।