पुनर्निर्माण यात्राको परीक्षण क्षणमा नेपाल

काठमाडौं। एसियन कपमा पुग्ने सम्भावना समाप्त भइसके पनि नेपाली पुरुष फुटबल टोली मंगलबार मलेसियाविरुद्ध उत्रिँदैछ।
तेस्रो चरणको पाँचौं खेललाई महत्त्वपूर्ण साथका रुपमा लिइएको छ। यो खेल नतिजाको मात्र होइन, नेपाली फुटबलको ‘पुनर्निर्माण यात्रा’ कुन दिशातर्फ बढ्दैछ भन्ने परीक्षण क्षण पनि हुनेछ।
हुन त यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने तय थियो। तर, एएफसीले रंगशाला अयोग्य घोषित गरेपछि नेपाल फेरि एकपटक विपक्षीको मैदानमा खेल्न बाध्य भएको छ।
घरेलु समर्थनबिनै विदेशी मैदानमा निरन्तर खेल्नुपर्ने अवस्था नेपाली खेलाडीका लागि चुनौतीपूर्ण बनिरहेको छ। यस्तो परिस्थितिमा आजको प्रदर्शनले टीमको मानसिकता, प्रतिबद्धता र तयारी कति सुध्रिएको छ? त्यो उजागर गर्नेछ।
नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्का औपचारिक प्रतियोगितामा पहिलोपटक निर्णायक भूमिकामा छन्। छोटो तयारी, सीमित समय र अपेक्षाको ठूलो बोझबीच उनले टोलीलाई नयाँ संरचनातर्फ लैजाने संकेत देखाएका छन्।
बंगलादेशविरुद्ध पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका दीपेश गुरुङ र आदीत्य शाक्यसँगै सुवास बम ठकुरी र कुशल देउवाजस्ता युवा खेलाडी आज पनि दोहोरो भूमिकामा उत्रिने सम्भावना छ।
नेपाली टोली अहिले ‘प्रपर नम्बर ९’ को खोजीमा छ भन्ने कुरा प्रशिक्षक खड्काले खुलेर बताएका छन्। यही कारण टोली हाल पूर्ण रूपमा ‘ट्रायल फेज’मा छ।
विभिन्न पोजिसनमा मनिष डाँगीदेखि जिलेश्पी कार्की र रोहित चन्दसम्मलाई प्रयोग गर्ने काम जारी छ। यसैले मलेसियाविरुद्धको खेलको मूल्यांकन परिणामले होइन, संयोजन र भविष्यको संरचना कति स्पष्ट देखियो भन्ने आधारमा हुनेछ।
मलेसिया भने उत्कृष्ट फर्ममा छ। पछिल्ला पाँच खेल अपराजित रहेको घरेलु टोलीले नेपालमाथि जित निकाले एसियन कप २०२७ मा आफ्नो स्थान लगभग सुनिश्चित गर्ने छ।














