काठमाडौं। युवक लामा र रामचन्द्र काफ्लेले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा भएको प्रतियोगितामा युवकले खुट्टाको समस्या तथा रामले हातको समस्या भएकोमा स्वर्ण जितेका हुन् । दुवै स्पर्धाको दूरी ५ किलोमिटर रहेको थियो । युवकले निर्धारित दूरी १२ मिनेट ४४ सेकेन्डमा पूरा गरे । रविन मानन्धर दोश्रो तथा दिपेश कार्की तेश्रो भए ।
पुल्चोक इन्जिनिएरिङ कलेजको हातामा भएको प्रतियोगितामा निर्धारित दूरी तय गर्न रामले १२ मिनेट २८ सेकेन्ड समय खर्चे । नरेशराज भट्टराई दोश्रो तथा विश्वबन्धु तिमल्सिना तेश्रो स्थानमा रहे ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १९ खेलाडी सहभागी थिए ।