एजेन्सी । क्वार्टरफाईनलको दोस्रो खेलमा ब्राजिलको पराजयसंगै विश्वकप फुटबलमा दक्षिण अमेरिकी चुनौती समाप्त भएको छ । युरोपेली राष्ट्र बेल्जियमले पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गरेसंगै रुसी विश्वकपको उपाधि युरोपेली राष्ट्रले उचाल्ने पक्का भएको हो ।
कुनैपनि अफ्रिकन राष्ट्रले रुसी विश्वकपको नकआउट चरणमा स्थान बनाउन सकेनन् । एसियाली पावर हाउस जापानले अन्तिम १६ मा स्थान बनाएपनि बेल्जियमसंग पराजित हुदै घर फर्कन बाध्य भयो ।
रेड डेभिल्सले चिनिने बेल्जियम, विश्वकपमा एसियाली र दक्षिण अमेरिकी चुनौती समाप्त पार्ने एक्लो राष्ट्र बन्यो ।
यसपटक दक्षिण अमेरिकाबाट ब्राजिल सहित अर्जेन्टिना, कोलम्बिया, पेरु, उरुग्वेले विश्वकपमा सहभागिता जनाएका थिए ।
क्वार्टरफाईनल सम्म पुग्न सफल दक्षिण अमेरिकी टोली उरुग्वे, फ्रान्ससंग र ब्राजिल, बेल्जियमसंग पराजित भएका छन् ।
अन्तिम १६ को प्रवेश गरेको कोलम्बिया, इङ्ल्याण्डसंग हारेको थियो भने नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना, फ्रान्ससंग पराजित हुदै घर फर्किएको थियो । पेरु समुह चरणबाटै बाहिरिएको थियो ।
ईतिहासलाई फर्किएर हेर्दा दक्षिण अमेरिकी देशले ९ पटक विश्वकपको उपाधि उचालेका छन् । युरोपका राष्ट्रले ११ पटक विश्वकपको सफलता आत्मसाथ गरेका छन् ।