एजेन्सी । फ्रान्स रुसमा जारी फिफा विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टरफाईनलको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सेले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
मुख्य खेलाडी इडिसन काभानीबिना मैदान उत्रिएको उरुग्वेले फ्रान्सविरुद्ध खासै आक्रमण बुन्न सकेन् ।
४० औ मिनेटमा राफेल भारानेको गोलमार्फत फ्रान्सले खेलमा अग्रता बनाएको थियो । एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा भारानेले उत्कृष्ट हेडमार्फत गोल गरेका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप एक गोल थप्यो । एन्टोनी ग्रिजम्यानले फ्रान्सको अग्रतालाई दोब्बर बनाए । उनले डिबक्स बाहिरबाट गरेको कडा प्रहार उरुग्वेली गोलकिपरको हातमा लागेर पोस्टभित्र छिरेको थियो ।
फ्रान्स छैटौं पटक विश्वकप फुटबलको सेमिफाईनल प्रवेश गर्न सफल भएको हो । यसअघि फ्रान्सले सन् २००६ को विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेका थिए ।
फ्रान्सले अब सेमिफाईनलमा ब्राजिल र बेल्जियमबीचको विजेतासंग खेल्नेछ ।