एजेन्सी । रुसमा जरी फिफा विश्वकप फुटबल अन्तर्गत प्रि – क्वाटरफाइनलखेलमा आज स्विडेन र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्दै छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ ।
सेन्ट पिटर्सवर्गमा हुने खेलमा दुवै टोलीको लक्ष्य अन्तिम आठमा पुग्नु हुनेछ । प्रतियोगितामा स्विडेन समूह 'एफ' को बिजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस्तै स्विजरल्याण्ड समूह 'इ' को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
दुई टोलीबीच मैदान उत्रदा मुख्य त् दुई खेलाडी दृश्यमा रहने छन् । स्विडेनका एन्ड्रियास ग्रान्कुभिस्ट र स्विजरल्याण्डका ग्रानिट जाका चर्चामा रहने छन् । यी दुई खेलाडीको प्रदर्शनमा दुवै टोलीको अघिल्लो चरणको यात्रा तय हुनेछ ।
प्लेयर्स टु वाच :
एन्ड्रियास ग्रान्कुभिस्ट (स्विडेन)
स्विजरल्याण्डविरुद्ध मैदान उत्रदा स्विडेनका मुख्य खेलाडी हुन्, डिफेन्डर एन्ड्रियास ग्रान्कुभिस्ट । उनले स्विस फरवार्डलाई रोक्दै आफ्नो टोलीलाई अघिल्लो चरणमा पुर्राउन सक्ने क्षमता राख्न सक्छन् ।
स्विडेनले स्विस फरवार्डविरुद्ध यि ३३ बर्षीय भेट्रान ग्रान्कुभिस्टलाई खम्बाको रुपमा उभ्याउने छ । ग्रान्कुभिस्टसँग विश्व स्तरीय खेलाडीलाई रोक्न सक्ने क्षमता छ ।
समूह चरणको पहिलो खेलमा दक्षिण कोरियालाई हराउने क्रममा ग्रान्कुभिस्टले महत्वपूर्ण भूमिका खेलेका थिए । दोस्रो खेलमा जर्मनीसंग पराजित भएपनि उनको प्रदर्शन उच्च थियो । यस्तै समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई हराउदा उनको डिफेन्स तारिफ योग्य थियो ।
स्विडेनले आज ग्रान्कुभिस्टबाट पुरानै लयको आसा गरेको छ । ग्रान्कुभिस्ट चम्किए स्विजरल्याण्डका खेलाडीहरुलाई गोल गर्न निकै सकस हुनेछ । किनकी स्विडेनले विश्वकप छनोटको प्ले अफमा इटालीका खेलाडीलाई रोकेको इतिहास छ ।
अग्ला कदका ग्रान्कुभिस्ट रसियन लिगबाट फुटबल खेल्ने गर्छन् । एफके क्रस्नोडरका लागि खेल्ने उनले रसियन प्रिमियर लिगमा २९ खेलमा एक गोल समेत गरेका छन् । विश्वकप छनोटमा १२ खेल खेलेका उनले ३ गोल गरेका थिए ।
ग्रानिट जाका (स्विजरल्याण्ड)
स्विडेनविरुद्ध मैदान उत्रदा स्विजरल्याण्डका मुख्य खेलाडी हुन्, ग्रानिट जाका । जाका स्विजरल्याण्डका अनुभवी खेलाडी पनि हुन् ।
मिडफिल्डमा निकै जम्ने जाकाकै कारण स्विजरल्याण्डले स्विडेनको डिफेन्स लाईन तोड्न सक्ने विश्वास गरिएको छ । स्विजरल्याण्डको मुख्य हतियार र बलियो पाटो भनेकै मिडफिल्ड हो ।
२५ बर्षीय यी मिडफिल्डर ब्यवसायीक रुपमा इङ्लिस प्रिमीयर लिग क्लब आर्सनलबाट खेल्ने गर्छन् । यो सिजन जाकाले लिगमा ३८ खेल खेल्दै एक गोल गरेका थिए ।
जाकाले स्विजरल्याण्डबाट ६२ खेल खेलिसकेका छन् । जसमा उनले ९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।