एजेन्सी । पुर्व विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्सले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।आमा बनेपछि पहिलोपटक ग्राण्डस्लाम टेनिस खेलेकी सेरेनाले पहिलो चरणमा डच खेलाडी एरान्क्षा रुसलाई पराजित गरिन् ।
लण्डनमा भएको खेलमा २५ औं वरियताकी सेरेनाले रुसमाथि ७ - ६ र ५ - ३ ले पराजित गरिन् । सेरेनाले गत सेप्टेम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् । छोरीलाई जन्म दिएपछि गत चैतबाट टेनिस कोर्टमा फर्केकी सेरेनाले बर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन खेलेकी हुन् ।
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले ७ पटक विम्बल्डन टेनिसको उपाधि जितिसकेकी छिन् । अब सेरेनाले दोस्रो चरणमा टेरिजा र भिक्टोरियाबीचको बिजेतासंग खेल्ने छिन् ।
विम्बल्डन टेनिसमै सेरेनाकी दिदि भेनस विलियम्सले पनि दोस्रो चरणमा स्थान बनाएकी छिन् । यस्तै डेनमार्ककी कारोलिना वुजिनिकी,मेन्डिस केइसले पनि दोस्रो चरणमा स्थान पक्का गरेकी छिन् ।
महिलातर्फ नै युएस ओपन बिजेता स्लोआने स्टेफेन्स भने पहिलो चरणबाट बाहिरिएकी छिन् । स्टेफेन्स क्रोएसियाकी डोंना भेकिचसंग ६ - १ र ६ - ३ ले पराजित भईन् ।
पुरुषतर्फ मिलोस् रावनिक, स्टान वारिन्का,मारिक सिलिक र केभीन एण्डरसनले दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।