एजेन्सी । रुसमा जारी विश्वकपमा बेल्जियम निकै लयमा देखिएको छ । समूह चरणमा बेल्जियमको प्रदर्शन एकनासे रहेको थियो । समूह चरण पार गर्न बेल्जियमलाई कुनै कठिनाई परेन ।
यता, जापानलाई भाग्यले साथ दियो । तर, समूह चरणमा जापानले प्रदर्शन गरेको जुझारुपन धेरै मन परेको थियो । एसियन राष्ट्रबाट नकआउट चरणमा पुग्ने एक्लो राष्ट्र पनि हो जापान ।
यस्तोमा आज राति हुने दोस्रो प्रि- क्वाटरफाइनलमा जापानले बेल्जियमसंग खेल्दैछ । रोस्तोभ एरिना हुने खेलमा दुवै टोली जित निकाल्दै अर्को चरणमा पुग्न चाहन्छ । दुई टोलीलाई क्वाटरफाइनलमा पुग्न आफ्ना खेलाडीको उच्च प्रदर्शन पनि आवश्यक रहेको छ ।
क्वाटरफाइनलमा पुग्न बेल्जियमलाई रोमेलु लुकाकु जस्ता खेलाडीको जादुमय खेल आवश्यक छ । यस्तै बेल्जियमलाई रोक्न जापानको लागि ताकासी इनुई मुख्य खेलाडी हुनेछन् ।
रोमेलु लुकाकु (बेल्जियम )
रुस विश्वकपमा रोमेलु लुकाकु बेल्जियमका मुख्य स्ट्राइकर हुन् । लुकाकुले आफुलाई प्रमाणित समेत गरिसकेका छन् । समूह चरणको दुई खेलमा चार गोल गरिसकेका लुकाकु आज पनि बेल्जियमका मुख्य हतियार हुने छन् । जारी विश्वकपमा लुकाकु गोल्डेन बुट दाबेदार समेत हुन् ।
इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर लुकाकु निकै लयमा समेत छन् । २५ बर्षिय लुकाकुले सिजन प्रिमियर लिगको ३४ खेलमा १६ गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगको ८ खेलमा ५ गोल गर्न सफल भएका छन् ।
विश्वकप छनोटको ८ खेलमै ११ गोल गरेका लुकाकु गोल गर्न माहिर खेलाडी मानिन्छन् । लामो लामो पास खेल्न, मैदानमा पुरा समय आफ्नो लगाब लगाएर खेल्ने खुबी भएका लुकाकु आज जापानको लागि घातक हुन सक्छन् ।
ताकासी इनुई (जापान)
रुसमा जारी विश्वकपको नकआउट चरणमा पुग्ने एक्लो राष्ट्र हो जापान । आज जापान बेल्जियमलाई हराउदै क्वाटरफाइनलमा पुग्न चाहन्छ । यसको लागि जापानले ताकासी इनुईलाई मुख्य हतियार बनाउने छन् ।
समूह चरणका तीन खेलमा एक गोल गरिसकेका इनुईले आज जापानलाई अन्तिम आठमा पुर्राउन महत्वपूर्ण भूमिका खेल्न सक्ने छन् । ३० बर्षे मिडफिल्डर इनुई स्पेनिस क्लब इबरबाट ब्यवसायीक फुटबल खेल्ने गर्छन । त्यसैले एसियाली पावर हाउस जापानका इनुई युरोपेली फुटबलमा राम्रोसँग भिजेका छन् ।
ला लिगामा ३४ खेल खेल्दै ५ गोल गरेका इनुई बेल्जियमविरुद्ध चम्कने विश्वास गरिएको छ । यो खेलमा इनुई चम्किए बेल्जियमलाई हराउन जापानलाई खासै कठिनाई पर्ने छैन ।