एजेन्सी । रुस विश्वकप फुटबलमा आज हुने प्रि–क्वाटरफाइनलमा दुई ठुला राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । आज हुने पहिलो प्रि-क्वाटरफाइनलमा ब्राजिलले मेक्सिकोसंग खेल्दैछ ।
नेपाली समय अनुसार पौने आठमा हुने खेलमा दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । यस्तोमा समारा स्टेडियमा हुने खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
ब्राजिल र मेक्सिकोबीच हुने खेलमा दुई खेलाडी दृश्यमा हुनेछन् । ब्राजिलका फिलिपे कौटिन्हो र मेक्सिकोका हिर्भिङ लोजानो चर्चामा रहने छन् । यी दुई खेलाडीको प्रदर्शनमा दुवै टोलीको भाग्य निर्धारण हुनेछ ।
फिलिपे कौटिन्हो (ब्राजिल)
सधै नेयमार प्रेरित रहेको ब्राजिललाई यस पटको रसिया विश्वकपमा फिलिपे कौटिन्होले अगाडि बढाइरहेका छन् । रसिया विश्वकपमा कौटिन्हो तीन खेलमा दुई गोल गरिसकेका छन् ।
व्यवसायीक फुटबलमा स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने प्ले मेकर कौटिन्हो यसै सीजन प्रिमियर लिग लिभरपुरबाट बार्सिलोना पुगेका थिए । प्रिमियर लिगमा १४ खेल खेल्दै ७ गोल गरेर स्पेन लागेका कौटिन्होले ला लिगामा १८ खेलमा ८ गोल गरेका थिए ।
कौटिन्होले युरोपको प्रतिष्ठित च्याम्पियन लिगमा भने लिभरपुरबाट ५ खेल खेल्दै ५ गोल गरेका छन् । विश्वकप छनौट खेलमा १३ खेल खेलेका कौटिन्होले ४ गोल गरेका थिए । सिधा फ्रिकिक प्रहार गर्न र लामा बल प्रहार गर्न सफल कौटिन्होको डिबक्स बाहिरबाट दाया खुट्टाले प्रहार गरेर गोल गर्ने कलाले सबैलाई आश्चर्य चकित बनाउछ ।
मेक्सिकोविरुद्ध ब्राजिलले उनै प्ले मेकरबाट धेरै आशा गरेको छ । आज कौटिन्होको जादु चलेमा मेक्सिकोलाई हराउन ब्राजिललाई कुनै कठिनाई हुने छैन ।
हिर्भिङ लोजानो (मेक्सिको)
समूह चरणको पहिलो खेलमा विश्वविजेता जर्मनीलाई हराउदाका नायक हुन्, हिर्भिङ लोजानो । उनकै निर्णायक गोलमा जर्मनी मेक्सिकोसंग १ – ० ले स्तब्ध भएको थियो । त्यहीँ हारले जर्मनीले समूह चरण पार गर्न सकेनन् ।
आज ब्राजिलविरुद्ध मैदान उत्रदा मेक्सिकोले उनै लोजानोलाई मुख्य हतियार बनाउने छन् । आक्रमक फुटबल खेल्न रुचाउने २२ बर्षीय यी स्ट्राइकर नेदरल्याण्डको लिगमा फुटबल खेल्ने गर्छन् । अहिले उनलाई भित्राउन युरोपियन लिगका ठुला क्लबहरु लागि परेका छन् ।
पिएसभी इन्डोभेन क्लबबाट खेल्ने लोजानोले यो सिजन २९ खेल खेल्दै १७ गोल गरेका थिए । विश्वकप छनोटमा ८ खेलमा लोजानोले ४ गोल गरेका थिए ।
पाएको मौकालाई सदुपयोग गर्न माहिर लोजानो लामा सट, साथीको लागि पास उपलब्ध गराउन माहिर मानिन्छ । अहिले युरोपियन बजारमा उनको माग बढेको छ । धेरै क्लबहरु उनलाई भित्राउन लायालित रहेका छन् ।