एजेन्सी । बेलायती टेनिस स्टार एन्डी मर्रेले ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन टेनिसबाट नाम फिर्ता लिएका छन् । मर्रेले प्रतियोगिताको पुर्वसन्ध्यामा आफ्नो नाम फिर्ता लिएका हुन् ।
विश्वकै सबैभन्दा पुरानो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन आजबाट लन्डनमा सुरु हुँदैछ । तर, पुर्व विश्व नम्बर एक मर्रेले फिटनेसको कारण देखाउदै प्रतियोगिता नखेल्ने बताएका हुन् । हिप इन्जुरीको शल्यक्रियापछि मर्रे यसै साता टेनिस कोर्टमा फर्किए थिए ।
३१ बर्षीय मर्रेले इन्जुरीको समस्या पूर्ण रुपमा ठिक भएपछि खेलमा फर्कने योजना बनाएको कारण नाम फिर्ता लिएको बताएका छन् । मर्रेले युएस ओपनबाट खेलमा फर्कने संकेत पनि गरेका छन् । मर्रेले भनेका छन्, 'भारी हृदय बनाएर घोषणा गर्दैछु कि यो बर्षको विम्बल्डनबाट नाम फिर्ता लिएको छु । म धेरै अभ्यास गर्नेछु । पूर्ण रुपमा ठिक भएर अमेरिकाको कोर्टमा फर्कने छु ।'
३ पटकको ग्राण्डस्लाम बिजेता मर्रेले २ पटक विम्बल्डन जितेका छन् । मर्रेले सन् २०१३ र २०१६ मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।