एजेन्सी । रुस विश्वकप, प्रि–क्वाटरफाइनलको अघिल्लो दुई खेल, रोमान्चक भिडन्त अनि दुई ठुला राष्ट्रको बहिर्गमन ।
डेनमार्कविरुद्ध मैदान उत्रदा क्रोएसियालाई यो नतिजाले सताउने छ । किनकी जर्मनीबाट सुरु भएको ठुला राष्ट्रको बहिर्गमनको सुरुवात अर्जेन्टिना र पोर्चुगलसम्म आइपुगेको छ ।
लियोनल मेस्सीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको विश्वकप यात्राको समाप्तिले विश्व फुटबलमा तहल्कै मच्चिएको छ । कतै, अन्य ठुला राष्ट्रको अवस्था त्यस्तै त् हुने हैन भन्ने शंका बढेको छ । यस्तोमा नोभगोरोड रंगशालामा डेनमार्कविरुद्ध शतर्क हुनेछ, क्रोएसिया ।
क्रोएसिया विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमा पर्छ । अर्जेन्टिना, नाइजेरिया जस्ता राष्ट्र रहेको समूहमा क्रोएसियाले समूह विजेता बन्यो । उसले समूह चरणमा अर्जेन्टिनाविरुद्ध निकालेको ३ – ० को जित निकै शानदार थियो ।
डेनमार्कविरुद्ध शतर्क हुँदै क्रोएसिया आफ्नो लयलाई कायम राख्न चाहन्छ । तर, स्टार खेलाडीले भरिएको र जुझारु प्रदर्शन गरिरहेको डेनमार्कविरुद्ध क्रोएसियालाई कठिन हुनेछ ।
क्रोएसिया यो पटक सन् १९९८ को विश्वकपको नतिजालाई तोड्न चाहन्छ । क्रोएसियाले उक्त विश्वकपमा निकै उत्कृष्ट खेलेको थियो । क्रोएसिया त्यो संस्करणमा तेस्रो भएको थियो । अहिले क्रोएसियाले त्यो लयलाई नै पछ्याईरहेको छ । क्रोएसियाले विश्वकप इतिहासको समूह चरणमा पहिलोपटक शत प्रतिशत जित निकालेको हो ।
'हामीलाई थाहा छ, १९९८ को टिम महान थियो । उनीहरु हाम्रो आइडल हुन् । अहिले क्रोएसियन टिम त्यो लयलाई पछ्याईरहेको छ,' क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले भने, 'तर, हामी अहिले त्यसलाई बिर्सनु पर्छ । किनकी यो प्रतियोगिताबाट हामीले आफ्नै इतिहास बनाउनु पर्छ ।'
विश्वकपमा क्रोएसियाले युरोपियन राष्ट्रसंग कमै खेल हारेको छ । पछिल्लो ६ युरोपियन राष्ट्रसंगको भेटमा क्रोएसिया १ पटक मात्र पराजित भएको छ । समृद्ध इतिहासले पनि क्रोएसिया उच्च मनोबलमा हुनेछन् । क्रोएसियासंग लुका मोड्रिक, राकिटिक जस्ता खेलाडीको लयले थप उर्जा मिल्ने छ ।
यता,पाँच विश्वकप सहभागितामा चौथो पटक नकआउट चरणमा पुगेको डेनमार्क पनि आफ्नै लयमा छ । फ्रान्स रहेको समूहबाट उपविजेता बनेको डेनमार्कले समूह चरणमा एक खेल पनि गुमाएन । उसले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दै आफ्नो बहादुरी देखाएको थियो ।
क्रोएसियाविरुद्ध मैदान उत्रदा डेनमार्कले फ्रान्ससंगको खेल अपनाउने छन् । किनकी फ्रान्सविरुद्धको डेनमार्कको रणनीति सफल भएको थियो । यस्तै डेनमार्क खेलाडीमा राष्ट्रको लागि केहि गर्नु पर्छ भन्ने भावना विकास भएको छ । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले भनेका छन्, 'हामी समूह चरणबाट घर फर्किएको भए, त्यो स्क्यान्डल मात्र हुने थियो । हामी देशको लागि यो लयलाई कायम राख्ने छौं ।' एरिक्सन भने झैँ डेनमार्कको टिम गेम निकै लयमा देखिएको छ । त्यसैले डेनमार्कले क्रोएसियालाई चुनौती दिनेछ ।
डेनमार्कको लय कस्तो छ भन्ने कुरा तथ्यांकले प्रस्ट बनाउछ । डेनमार्क पछिल्लो दुईबर्षबाट अपराजित छ । डेनमार्कले खेलेका १८ खेलमा ९ जित निकाल्दा ९ खेल बराबरीमा खेलेको छ । त्यसैले त् डेनमार्क अर्को चरणमा पुग्नेमा प्रशिक्षक एज हेरीडेलाई पूर्ण विश्वास छ । प्रशिक्षक हेरीडेले भेनका छन्, 'मेरो विचारमा तपाईहरुले डेनमार्कलाई फरक देखिरहनु भएको छ । क्रोएसिया बलियो देखिएको छ । उनीहरु सरप्राइज हुनेछन् । त्यसैले हामी फरक तरिकाले खेल्ने छौं र अघिल्लो चरणमा पुग्ने छौं ।'
क्रोएसिया र डेनमार्कबीचको हेड टु हेडमा दुवै बराबरीको स्थितिमा रहेका छन् । दुई टोलीले अहिलेसम्म पाँच पटक खेलेका छन् । जसमा दुई टोलीले समान दुई दुई खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।