सन् २००१ को अप्रिल १४ । इराकमा सद्दाम हुसेनको शासन चलिरहेको थियो । त्यति बेला कसले मात्र सोचेका थिए होला र यी तानाशाहको अन्त्य कुनै एक दिन दयनीय स्थितिमा हुन्छ भनेर ।
त्यस दिन बगदादमा नेपाली राष्ट्रिय फुटबल टिम इराकविरुद्ध खेल्दै थियो, विश्वकप छनोटमा । त्यति बेला त्यो खेललाई लिएर कसले सोचेको थियो होला र त्यसमा नेपालले सुरुवाती अग्रता लिन्छ भनेर ।
राजधानीको मुख्य रंगशाला । खचाखच दर्शक । हल्का वर्षा ।
खेल सुरु भएको केही मिनेट मात्र भएको थियो, निराजन रायमाझीले एकाएक बल अगाडि बढाए र गोल गरे । नेपाल १–० ले अगाडि । पूरा रंगशाला स्तब्ध । र, शान्त पनि ।
त्यसो त यो नेपालले त्यो खेल ९–१ ले गुमायो । एक गोल के गरेको थियो, त्यसपछि नेपालले एकपछि अर्को गोल खान थाल्यो । त्यो खेलको नतिजा जे होस, निराजनको त्यो खेल विरलै बिर्सिने छ । त्यो त्यही समय थियो, जति बेला नेपाली फुटबलमा निराजनको वास्तविक उदय भइरहेको थियो ।
रुसमा विश्वकप २०१८ जारी छ । पूरा विश्व त्यसै विश्वकपमा केन्द्रित छ । नेपाल मात्र किन अपवाद र ? हाम्रा फुटबल प्रशंसक पनि दिन रात नभन्दै त्यही विश्वकपमा झुमिएका छन् । यसबीच हाम्रो फुटबललाई लिएर केही प्रश्न पनि उठ्ने छन् । जस्तो, के कुनै बेला त्यस्तो दिन पनि आउने छ, जति बेला नेपालले विश्वकप खेल्नेछ त ? के विश्वकपका सपना त देख्न पाइन्छ, नेपालीले ? केहीका लागि यस्तो सपना बुन्नु पनि धेरै लाग्नेछ, नेपाली फुटबलको वास्तविक स्थिति देखेर ।
खैर, यी त भए सपना देख्ने कुरा । कम्तीमा हामी विश्वकप छनोट त खेल्छौं । नेपालले खेलेका विश्वकप छनोटका आफ्नै मस्त कथाहरू पाइन्छ । यसमा दुःख र पीडाका कथा बढी छन् । खुसी र हाँसो कमै ।
सन् २००२ को विश्वकपका लागि नेपालले खेलेको छनोट भने धेरै अर्थमा नेपालका लागि सम्झना लायक रह्यो । नेपालले अहिलेसम्म खेलेको यो नै सबैभन्दा राम्रो विश्वकप छनोट हो । र, यससँगै जोडिएर आउँछ, तिनै निराजन ।
त्यस छनोटका क्रममा निराजनले सात गोल गरे । एक समय एसियाली छनोटमै उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको माथि माथिको भागमा थिए । यी निराजनले नेपालका लागि कुल १३ गोल गरे र संयुक्त रूपमा उनी हरि खड्कासँग नेपाली राष्ट्रिय फुटबल टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । त्यसो भनेको, दुई खेलाडीको नाममा १३-१३ गोल छ । अचेल निराजन हराएकै स्थितिमा छ । हरि भने मैदान बाहिर पनि उत्तिकै सक्रिय छन्, अचेल पनि ।
संयोग कस्तो भने हरिकै नाममा छ, नेपालका लागि विश्वकप छनोटमा पहिलो गोल । सन् १९९७ मार्च २३ । ओमानको मस्कट, मकाओविरुद्धको खेल । त्यो खेल १–१ को बराबरीमा टुंगियो । त्यसैमा हो, हरिले गोल गरेको । यसरी मकाओविरुद्ध गोल गर्दै उनी विश्वकप छनोटमा नेपालका लागि ऐतिहासिक सफलता आत्मसात् गर्ने खेलाडी बने । त्यो पनि त्यही समय थियो, जति बेला नेपाली फुटबलमा हरिको वास्तविक उदय भइरहेको थियो ।
यस्तोमा भन्न कर लाग्छ, जति बेला नेपाल र विश्वकप जोडिएर चर्चा सुरु हुन्छ, यी दुई पात्रको नाम छुटाएर त्यसबारे धेरै बोल्नु नेपाली फुटबल नबुझ्नु जस्तै हुनेछ । नेपाली फुटबलमा ती निराजन र यी हरिको चर्चा यहीं टुंगिन्न । उनीहरूबीचको सम्बन्धबारे पनि त केही लेख्नु ठीक हुन्छ । त्यसो त उनीहरू औपचारिक रूपमा एक अर्कालाई भेट्दा कुराकानी त गर्छन् होला । तर पनि उनीहरूबीच उत्तिकै मीठो सम्बन्ध भने छैन भनिन्छ ।
कारण ? यसका लागि सन् २००३ को मार्च १८ मा फर्किनु पर्छ । त्यति बेला एसियाकप छनोट काठमाडौंमा चलिरहेको थियो । दशरथ रंगशालामा खेल थियो, अफगानिस्तानविरुद्ध । त्यति बेला अफगानिस्तानले गृहयुद्धको समाप्तीमा पहिलो पल्ट अन्तर्राष्ट्रिय स्तरमा फुटबल खेल्न सुरु गरेको थियो । खेल सकिन केही समय अगाडिसम्म नेपाल मज्जाले ४–० ले अगाडि थियो । त्यसमा एक गोल हरिको नाममा थियो भने दुई गोल निराजनको नाममा । अर्को गोल दीपक लामाले गरेका थिए ।
खेलको अन्त्यतिर नेपालले पेनाल्टी पायो । त्यति बेला त्यो अवसर कसले पाउनु पर्ने थियो त ? पूरा खेलका स्थितिमा त्यसका हकदार निराजन थिए । तर होइन, हरिले पेनाल्टी प्रहार गरे । यसका लागि उनले हतारो पनि देखाए । तर उनी सफल भएनन, पेनाल्टीमा गोल हुन सकेन । निराजनले त्यो अवसर पाएको भए, गोल हुन्थ्यो कि ? गोल भएको भए, उनको नाममा ह्याट्रिकको उपलब्धी जोडिने थियो । हरिले किन हो, निराजनलाई त्यो स्थितिमा पुग्नै दिएनन् ।
सायद हरिको मनमा नेपालका लागि सर्वाधिक गोल गरेको सूचीमा निराजनले आपूmलाई उछिन्न सक्ने डर थियो कि ? हुन सक्छ, नहुन पनि सक्छ । हरिले यसबारे अहिलेसम्म बोलेका छैनन, कुनै दिन बोल्छन् होला । यस्तो छ, विश्वकप छनोटमा नेपालका लागि ऐतिहासिक प्रदर्शन गर्ने दुई नेपाली खेलाडीको सम्बन्ध र समीकरण ।
निराजनले पनि यसबारे औपचारिक रूपमा बोलेका छैनन, तर अनौपचारिक नै सही, हरिको त्यो व्यवहारका लागि उनको मनमा दुःख भने छ । उनी यस्तै भन्छन् ।