बालेन भन्छन्– मेरो फेभरेट देशले विश्वकप खेलेको छैन
-1781365966278.jpg&w=3840&q=75)
काठमाडौं। विश्वकप २०२६ को सुरुआतसँगै विश्वभर फुटबलको माहोल तातेको छ। नेपालमा पनि समर्थकहरू आ–आफ्ना मनपर्ने टोलीको पक्षमा खुलेर उभिएका छन्।
कोही अर्जेन्टिनाका समर्थक छन् भने कोही ब्राजिल, पोर्चुगल, जर्मनी, फ्रान्स वा इङ्ल्यान्डको जितको कामना गरिरहेका छन्।

फुटबलको यो उत्साह राजनीतिक वृत्तबाट पनि टाढा छैन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ पोर्चुगलका समर्थकका रूपमा चिनिन्छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद ऐन महर ब्राजिलका समर्थक हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डे अर्जेन्टिनाका समर्थक मानिन्छन्।

यहीबीच धेरैको जिज्ञासा थियो—देशका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कुन टोलीका समर्थक हुन्?
लोकप्रिय प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जाल र सार्वजनिक भेटघाटमा यो प्रश्न बारम्बार सोधिने गरेको बताइन्छ। अन्ततः उनले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्। तर, अन्य विषयमा जस्तै यसपटक पनि उनले कूटनीतिक शैलीमै उत्तर दिएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘धेरै जना साथीभाइले सोध्नुभयो, तपाईंको फेभरेट देश कुन हो विश्वकपमा? मेरो फेभरेट देशले खेलेकै छैन!’

बालेनको यो संक्षिप्त तर अर्थपूर्ण प्रतिक्रियाले सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी जन्माएको छ। केहीले यसलाई इटालीप्रतिको संकेत मानेका छन् भने केहीले राष्ट्रवादी छविका कारण बालेनले नेपालकै प्रतिनिधित्व गर्न खोजेको टिप्पणी गरेका छन्।
जे होस्, विश्वकपको रङ्गमा रंगिएको राजनीतिक वृत्तमा बालेनको यो रहस्यमय जवाफ अहिले चर्चाको विषय बनेको छ।













