आफ्नै खेलाडीप्रति खनिए रियलका समर्थक

काठमाडौं। रियल मड्रिडका समर्थकहरूले बिहीबार सान्टियागो बर्नाबेउ रंगशालामा आफ्नै टोलीका खेलाडीप्रति असन्तुष्टि पोखेका छन्।
रेलिगेसनमा परिसकेको ओभिएडोमाथि २–० को जित निकाल्दा पनि दर्शकहरूले केही खेलाडीलाई हुटिङ गरेका थिए।
चोटका कारण केही समय मैदानबाहिर रहेका किलियन एमबाप्पे दोस्रो हाफमा मैदान प्रवेश गर्दा समर्थकको एक समूहले उनलाई हुटिङ गर्यो। त्यसअघि भिनिसियस जुनियर पनि दर्शकको आलोचनाको शिकार बनेका थिए।
एमबाप्पेले खेलपछि भने,‘मेरो करिअरमा यसअघि पनि हुटिङ भएको छ। यो फुटबलको हिस्सा हो। कहिलेकाहीँ समर्थकहरू खुशी हुँदैनन्।’ रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजविरुद्ध केही ब्यानर पनि रंगशालामा देखाइएको थियो।
यसलाई सुरक्षाकर्मीले हटाएका थिए। स्पेनी सञ्चारमाध्यमका अनुसार पेरेजले भिआइपी ट्रिब्युननजिक केही समर्थकसँग भनाभन समेत गरेका थिए। यो खेल रियलका लागि निकै तनावपूर्ण साताको अन्त्यमा आएको हो। प्रशिक्षणका क्रममा खेलाडीहरूबीच झगडा भएपछि क्लबले फेडेरिको भाल्भेर्दे र ओरेलियन चुआमेनीलाई पाँच लाख युरो जरिवाना गरेको थियो।
त्यसपछि आइतबार बार्सिलोनासँग एल क्लासिकोमा हार बेहोरेपछि प्रतिद्वन्द्वी क्लबले ला लिगा उपाधि जितेको थियो। मंगलबार अध्यक्ष पेरेजले आफूलाई हटाउन संगठित अभियान चलाइएको आरोप लगाउँदै क्लबमा नयाँ निर्वाचनको घोषणा गरेका थिए।
रियल लगातार दोस्रो सिजन पनि कुनै ठूलो उपाधिविहीन बनेको छ। टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग पराजित भयो भने कोपा डेल रेमा दोस्रो डिभिजनको अल्बासेटेसँग हार्यो। स्पेनिस सुपर कपको फाइनलमा पनि बार्सिलोनासँग पराजित भएको थियो।
ओभिएडोविरुद्धको खेलमा गार्सियाले ४३औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ६८औं मिनेटमा मैदान प्रवेश गरेका एमबाप्पेको पासमा जुड बेलिङ्घमले ७९औं मिनेटमा दोस्रो गोल गरे।
यता रेलिगेसनबाट बच्ने संघर्षमा रहेको गिरोनाले रियल सोसिडाडसँग १–१ को बराबरी खेल्दै रेलिगेसन क्षेत्रबाट बाहिरिन सफल भयो। गिरोनाका लागि क्रिस्टियन स्टुआनीले बराबरी गोल गरेका थिए।
कन्फ्रेन्स लिगको फाइनल पुगिसकेको रायो भालेकानोले भ्यालेन्सियासँग १–१ को बराबरी खेल्यो। बार्सिलोनाको १०० अंक पुर्याउने सपना भने बुधबार अलाभेससँग १–० ले पराजित भएपछि समाप्त भएको छ। बार्सिलोनाले आइतबार रियललाई २–० ले हराउँदै लगातार दोस्रो पटक ला लिगा उपाधि जितेको थियो।












