विश्वकप फाइनलमा पहिलो पटक ‘हाफटाइम शो’ हुने
-1778753555662.webp&w=3840&q=75)
काठमाडौं। फिफाले सन् २०२६ को विश्वकप फाइनलमा पहिलो पटक ‘सुपर बाउल’ शैलीको भव्य ‘हाफटाइम शो’ आयोजना गर्ने घोषणा गरेको छ।
१९ जुलाईमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा म्याडोना, शकिरा र के–पप ब्यान्ड बीटीएस मुख्य आकर्षणका रूपमा प्रस्तुत हुनेछन्। फिफाका अनुसार यो विशेष सांगीतिक कार्यक्रम ‘फिफा ग्लोबल सिटिजन एजुकेसन फन्ड’ लाई सहयोग गर्न आयोजना गर्न लागिएको हो।
उक्त अभियानमार्फत बालबालिकाको शिक्षा र फुटबल पहुँच विस्तारका लागि १० करोड डलर संकलन गर्ने लक्ष्य राखिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलकुदको सबैभन्दा ठूलो मञ्चमा संगीत र फुटबललाई एकसाथ ल्याएर विशेष उद्देश्य पूरा गर्न लागिएको बताएका छन्।
उनले इन्स्टाग्राममार्फत ‘हरेक बालबालिकाले सपना देख्ने अवसर पाउनुपर्छ र हामी सबै मिलेर त्यो सम्भव बनाउन सक्छौं’ भन्ने सन्देश दिएका छन्। यो हाफटाइम शोको संयोजन चर्चित ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले गर्नेछन्।
सुपर बाउल आफ्नो भव्य हाफटाइम शोका लागि विश्वभर चर्चित छ। यसले हरेक वर्ष विश्वका ठूला संगीत कलाकारहरूले प्रस्तुति दिने गर्छन्। यस वर्षको शोमा पुएर्टो रिकन गायक ब्याड बन्नी प्रस्तुत भएका थिए। यसअघि माइकल ज्याक्सन, पल म्याककार्ट्नी, रोलिङ स्टोन्स, म्याडोना, प्रिन्स, ब्रुस स्प्रिङ्स्टिन र रिहानाजस्ता कलाकारहरूले पनि सुपर बाउलमा प्रस्तुति दिइसकेका छन्।
फुटबलमा भने यस्ता हाफटाइम शो सामान्य मानिँदैन। युरोपियन च्याम्पियन्स लिग फाइनलमा प्रायः खेलअघि सांगीतिक कार्यक्रम आयोजना गरिन्छ। यस वर्ष पेरिस सेन्ट–जर्मेन (पीएसजी) र आर्सनलबीच बुडापेस्टमा हुने फाइनलअघि ‘द किलर्स’ ब्यान्डले प्रस्तुति दिने तय भएको छ।
फिफाले विश्वकप फाइनलको हाफटाइम शोलाई खेल, संस्कृति र उद्देश्यको संगमको ऐतिहासिक क्षणका रूपमा वर्णन गरेको छ। यसलाई विश्वभर प्रत्यक्ष प्रसारण गरिनेछ। यस वर्षको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिता जुन र जुलाईभर सञ्चालन हुनेछ।












