बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

काठमाडौं। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई एकतर्फी रूपमा पराजित गरेको छ।
क्याम्प नोउमा भएको खेलमा जर्मन प्रशिक्षक हान्सी फ्लिकको टोलीले इंग्लिस क्लबलाई ७–२ गोलले हरायो। पहिलो लेग १–१ को बराबरीमा टुंगिएको थियो। योसँगै समग्रमा ८–३ को जितसहित क्याटलान क्लब क्वार्टरफाइनलमा पुगेको हो।
खेलको सुरुआत निकै प्रतिस्पर्धात्मक रह्यो। राफिन्हा र मार्क बेरनालको गोलमा बार्सिलोना अघि बढे पनि न्युक्यासलका एन्थोनी एलेन्गाले दुईपटक बराबरी फर्काए। पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत लामिन यमलले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए।
पहिलो हाफपछि खेल पूर्ण रूपमा बार्सिलोनाको पक्षमा गयो। फेर्मिन लोपेजले गोल गर्दै अन्तर बढाए। त्यसपछि रोबर्ट लेवान्डोव्स्कीले लगातार दुई गोल गरे। खेलको अन्त्यतिर राफिन्हाले आफ्नो दोस्रो गोल गर्दै टोलीको जित थप मजबुत बनाए।
यस शानदार जितसँगै आत्मविश्वास बढाएको बार्सिलोनाले अब क्वार्टरफाइनलमा अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।





-1773889321491.webp&w=3840&q=75)






