कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

काठमाडौं। आईपीएल फ्रेन्चाइज कोलकाता नाइट राइडर्सले बंगलादेशका फास्ट बलर मोस्ताफिजुर रहमानको विकल्पमा जिम्बाब्वेका पेसर ब्लेसिङ मुजाराबानीलाई टोलीमा भित्र्याएको छ।
क्लबले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेको हो। आईपीएल खेल्नका लागि मुजाराबानीले पाकिस्तान सुपर लिग (पीएसएल) सँगको सम्झौता पनि तोडेका छन्।
मोस्ताफिजुर रहमान अहिले पाकिस्तानविरुद्धको सिरिजमा व्यस्त छन्। यसअघि भारतीय क्रिकेट अधिकारीहरूको निर्णयपछि क्रिकेट जगतमा ठूलो विवाद सिर्जना भएको थियो।
कोलकाता नाइट राइडर्सले उच्च मूल्यमा मोस्ताफिजुरलाई टोलीमा अनुबन्ध गरे पनि सुरक्षा कारण देखाउँदै पछि उनलाई आईपीएलबाट बाहिर राखिएको थियो। यस निर्णयपछि बंगलादेशले भारतमा हुने विश्वकप बहिष्कार गर्ने घोषणा गरेको थियो।
बंगलादेशले विश्वकप श्रीलंकामा आयोजना गर्ने प्रस्ताव राखे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) त्यसमा सहमत भएन। त्यसपछि बंगलादेशको सट्टा स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको थियो।
मुजाराबानीलाई पीएसएलको टोली इस्लामाबाद युनाइटेडले डायमन्ड क्याटेगोरीमा अनुबन्ध गरेको थियो। तर, आईपीएलमा खेल्न उनले पीएसएल छाड्ने निर्णय गरेका छन्। यस वर्ष पीएसएल २६ मार्चबाट सुरु हुँदैछ भने आईपीएल २८ मार्चबाट सुरु हुने तालिका छ। यही कारण उनले पीएसएलभन्दा आईपीएललाई प्राथमिकता दिएका हुन्।















