सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बनेको छ।
निर्धारित २० ओभरको खेल बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभर पनि बराबरीमा टुंगिएपछि अन्ततः दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले ४ रनले जित निकाल्यो।
योसँगै दक्षिण अफ्रिकाले सुपर ८ को सम्भावना बलियो बनाएको छ। अपराजित रहेको दक्षिण अफ्रिकाको २ खेलबाट ४ अंक छ।
अफगानिस्तानको सम्भावना भने गणितिय रूपमा कायम रहेको छ। दुवै खेलमा पराजित भएको अफगानिस्तान अंकविहीन छ।
निर्धारित खेलमा अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि १३ रन आवश्यक थियो। कागिसो रबाडाको ओभरमा नो बल र वाइडबाट सुरुआतमै रन आएपछि समीकरण सहज बनेको थियो।
नूर अहमदले छक्का प्रहार गर्दै खेल अफगानिस्तानतर्फ ढल्काए। अन्तिम ३ बलमा २ रन आवश्यक पर्दा फजलहक फारुकी रनआउट भएपछि खेल बराबरीमा पुग्यो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले १७ रन बनायो। जवाफमा दक्षिण अफ्रिकाले पनि अन्तिम बलमा छक्का प्रहार गर्दै १७ रन नै जोड्यो। यससँगै खेल दोस्रो सुपर ओभरमा धकेलियो।
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रनको लक्ष्य प्रस्तुत गर्यो। अफगानिस्तानले पहिलो बलमै डट खेलेपछि दबाब बढ्यो। मोहम्मद नबी आउट भएपछि अन्तिम चार बलमा चारै छक्का आवश्यक थियो।
रहमानुल्लाह गुरबाजले केशव महाराजविरुद्ध लगातार तीन छक्का प्रहार गर्दै आशा जीवित राखे। अन्तिम बलमा पनि छक्का आवश्यक रहेकामा गुरबाज क्याच आउट भएपछि अफगानिस्तान ४ रनले पराजित भयो।
दक्षिण अफ्रिकाको सशक्त ब्याटिङ
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। क्विन्टन डी ककले ४१ बलमा ५९ रन र रायन रिकेलटनले २८ बलमा ६१ रन बनाए। दुवैले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए।
डेवाल्ड ब्रेभिस (२३), डेभिड मिलर (२०) र मार्को यान्सेन (१६) ले पनि उपयोगी योगदान दिए। अफगानिस्तानका अजमतुल्लाह ओमरजाइले ३ विकेट लिए भने राशिद खानले २ विकेट लिए।
१८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ४२ बलमा ८४ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ४ चौका र ७ छक्का प्रहार गरे। दारविश रसुलीसँग ७९ रनको साझेदारी गरेका गुरबाज आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो।
ओमरजाइ (२२) र राशिद खान (२०) ले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै खेल बराबरीमा पुर्याए पनि अन्तिम नतिजा भने दक्षिण अफ्रिकाको पक्षमा गयो।











-1770799852128.png&w=3840&q=75)


