अभिषेक अस्पतालमा

काठमाडौं । भारतका ओपनर ब्याटर अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन्।
पीटीआईका अनुसार उनी पछिल्ला दुई दिनदेखि दिल्लीस्थित एक निजी अस्पतालमा उपचाररत छन्। योसँगै बिहीबार नामिबियाविरुद्ध हुने टी–२० विश्वकप खेलमा उनको सहभागिता अनिश्चित बनेको छ।
अभिषेकको स्वास्थ्य अवस्थाबारे विभिन्न परीक्षण भइरहेको छ। ‘उनी आजै डिस्चार्ज हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट छैन। हालको अवस्थामा नामिबियाविरुद्धको खेल खेल्ने सम्भावना कमजोर देखिन्छ,’ समाचारमा भनिएको छ।
अभिषेकलाई पेटसम्बन्धी समस्या भएको यसअघि नै जानकारी सार्वजनिक भएको थियो। अमेरिकाविरुद्धको उद्घाटन खेलमा पहिलो बलमै आउट भएका उनी विपक्षी टोलीको इनिङ्सका क्रममा फिल्डिङ गर्न मैदानमा उत्रिएका थिएनन्। त्यसलगत्तै भारतका सहायक प्रशिक्षक रायन टेन डोस्काटेले उनी पेटको समस्याबाट निको हुने क्रममा रहेको बताएका थिए।
‘अभिलाई अझै पेटको केही समस्या छ। दुई दिनभित्र उनी उपलब्ध हुनेमा हामी आशावादी छौं,” टेन डोस्काटेले भनेका थिए।
यदि अभिषेक नामिबियाविरुद्ध उपलब्ध नभएमा भारतसँग सञ्जु स्यामसनलाई ओपनरका रूपमा उतार्ने विकल्प हुनेछ। स्यामसनलाई हालै न्यूजिल्यान्डविरुद्धको सिरिजमा कमजोर प्रदर्शनपछि ईशान किशनले पहिलो रोजाइका विकेटकिपर–ब्याटरका रूपमा प्रतिस्थापन गरेका थिए।
टेन डोस्काटेले टोली संयोजन अभिषेकको फिटनेसमा निर्भर रहने संकेत दिएका छन्। यसबीच भारतका लागि सकारात्मक खबर भने जसप्रित बुमराहको पुनरागमन हो। अमेरिकाविरुद्ध बिरामीका कारण पहिलो खेल गुमाएका बुमराहले मंगलबार दिल्लीमा भएको अभ्यास सत्रमा पूर्ण गतिमा बलिङ गरेका छन् र नामिबियाविरुद्ध खेल्ने सम्भावना प्रबल रहेको छ।
यस्तै, अलराउन्डर वासिङ्टन सुन्दर पनि न्यूजिल्यान्डविरुद्धको सिरिजका क्रममा भएको ‘साइड स्ट्रेन’ चोटबाट निको भएर टोलीमा फर्किएका छन्। उनले मंगलबार नेट्समा बलिङ र ब्याटिङ अभ्याससमेत गरेका छन्।










-1770799852128.png&w=3840&q=75)


