पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

काठमाडौं। पाकिस्तानले २०२६ को टी-२० विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने भएको छ।
पाकिस्तान सरकारले आफ्नो आधिकारिक ‘एक्स’ अकाउन्टबाट उक्त जानकारी दिएको हो। सरकारले पाकिस्तानी टोलीलाई प्रतियोगिताको लागि श्रीलंका यात्रा गर्न अनुमति दिएको छ।
एक्समा भनिएको छ,‘पाकिस्तान क्रिकेट टोली फेब्रुअरी १५, २०२६ मा भारतविरुद्धको निर्धारित खेलमा मैदानमा उत्रने छैन।’ यो निर्णयको कुनै कारण दिइएको छैन।
सुरक्षा चिन्ताका कारण भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनवरी २४ मा बंगलादेशलाई प्रतियोगिताबाट निष्कासित गरेको थियो। त्यसयता विश्वकपमा पाकिस्तानको सहभागिता शंकास्पद बनेको थियो।
बंगलादेशको वैकल्पिक स्थलको मागलाई खुलेर समर्थन गर्ने पाकिस्तान एक मात्र देश थियो। बंगलादेश बाहिरिएपछि पाकिस्तानले आईसीसीलाई भारतको पक्षमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको थियो।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकवीले आफ्नो देशले प्रतियोगितामा भाग लिने वा नलिने भन्ने अन्तिम निर्णय सरकारमा निर्भर रहने बताएका थिए।
दुई दिनपछि प्रधानमन्त्री शाहबाज शरीफसँग उनले भेटका थिए। उनलाई समस्या समाधान गर्न सबै विकल्पहरू खुला राख्न सल्लाह दिइएको थियो। त्यतिबेला, नक्वीले शुक्रबार वा अर्को सोमबार निर्णय हुने बताएका थिए। त्यो समयसीमाभन्दा एक दिन अघि पाकिस्तानी सरकारले विश्वकप खेल्ने निर्णय गरेको हो।
पाकिस्तानले सम्पूर्ण प्रतियोगिता बहिष्कार गर्नुको सट्टा भारतविरुद्धको खेलमा मात्र ध्यान केन्द्रित गर्ने अनुमान व्यापक थियो। पीसीबीले आईसीसीको समयसीमा भित्र आफ्नो विश्वकप टोली घोषणा गरेपछि यो अनुमान झनै तीव्र भयो।
पाकिस्तान समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स र अमेरिकासँग छन्। पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछन्, जो भारतसँगै प्रतियोगिताको सह–आयोजक हो।
पाकिस्तानले फेब्रुअरी ७ मा टी–२० विश्वकपको उद्घाटन दिन नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्नेछ। त्यसपछि फेब्रुअरी १० मा अमेरिका र फेब्रुअरी १८ मा नामिबियासँग सामना गर्नेछन्।
यदि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्यो भने दुई अंक गुमाउनेछन्।














