अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

काठमाडौं। नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा विजयी सुरुआत गरेकी छन्।
अस्ट्रेलियन ओपनअन्तर्गत आयोजित एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बुधबार भएको पहिलो खेलमा चीनकी जिन्यु झाउलाई २–१ ले पराजित गरिन्।
मेलबर्न पार्क–एनटिसी कोर्ट १९ मा सम्पन्न खेलमा शिभालीले पहिलो सेट ६–१ ले एकपक्षीय रूपमा आफ्नो पक्षमा पार्दै अग्रता लिएकी थिइन्। दोस्रो सेटमा भने चीनकी जिन्यु खेलमा फर्किँदै ६–३ ले सेट जितेर खेल बराबरीमा ल्याइन्।
तेस्रो तथा निर्णायक सेट निकै प्रतिस्पर्धात्मक बन्यो। टाइ–ब्रेकरसम्म पुगेको खेलमा शिभालीले जिन्युलाई १०–८ ले पराजित गर्दै खेल आफ्नो पक्षमा पारिन्।
गर्ल्सतर्फ ग्रुप ‘ए’ मा रहेकी शिभालीले आजै भारतकी जेन्सी कनाबारसँग मेलबर्न पार्क–एनटिसी कोर्ट १९ मा प्रतिस्पर्धा गर्नेछिन्। ग्रुप चरणको तेस्रो खेलमा शिभालीले बिहीबार घरेलु खेलाडी जसलिनसँग मेलबर्न पार्क–वेस्ट कोर्ट १९ मा खेल्ने कार्यक्रम रहेको छ।
एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया तथा प्यासिफिक क्षेत्रका उत्कृष्ट खेलाडीहरू सहभागी छन्। प्रतियोगितामा ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
ब्वाइज र गर्ल्स दुवै तर्फका खेलाडीलाई दुई समूहमा विभाजन गरिएको छ, जहाँ ग्रुप ‘ए’ र ग्रुप ‘बी’ मा समान रूपमा ४–४ खेलाडी छन्। टेनिस अस्ट्रेलियाका अनुसार खेलहरू सिंगल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछन्।







-1767335931387.jpeg&w=3840&q=75)








