नेपालको दुई रनको हार
-1769063102923.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो हार बेहोरेको छ।
नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २ रनले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेली सात विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो।
योसँगै लगातार तेस्रो जित निकालेको नेदरल्यान्ड्सले ६ अंकसहित सुपर सिक्समा आफ्नो स्थित सुनिश्चित गरेको छ। नेपालको भने अंक गणितिय सम्भावना कायम छ।
नेपालले पहिलो खेलमा थाइल्यान्ड्सँग ८ विकेटको हार खेपेको थियो। नेपाल एक समय जितनजिक पुगिसकेको थियो। रुविना क्षेत्री बेलबासेले अविजित ३७ रन बनाएकी थिइन्। ३२ बल खेलेकी उनले ५ चौका प्रहार गरिन्।
तल्लोक्रममा झरेकी सीता रानामगरले १२ बलमा ४ चौका र १ छक्कासहित अविजित २७ रन बनाएकी थिइन्। यी दुईबीच आठौं विकेटका लागि ४५ रनको साझेदारी भएको थियो।
तर, अन्तिम बलमा नेपाललाई जित्न छक्का चाहिएको थियो। अनुभवी रुविनाले हेदर सिजर्सको बलमा चौका मात्र लगाउन सकेपछि नेपालले हार बेहोरेको हो।
यीबाहेक नेपालकी ओपनर बिन्दु रावलले १८ रन बनाइन्। सम्झना खड्का १४ र कवित जोशी १३ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले सर्वाधिक ३ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले १६ रन खर्चिइन्।
सिल्भर सिजर्स, रोविन रिज्के र क्यारोलिन डे ल्याङ्गेको नाममा समान १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
नेदरल्यान्ड्सकी कप्तान बाबेटे डी लिडले सर्वाधिक ४९ रन बनाइन्। ४७ बल खेलेकी उनले ७ चौका प्रहार गरिन्। स्टेरे कालिसले ३० रनको योगदान दिइन्। यी दुईबीच तेस्रो विकेटका लागि ७९ रनको साझेदारी भएको थियो।
रोविन रिज्के १९ र हेदर सिजर्स १३ रनमा आउट हुँदा आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।
नेपालकी रुविनाले सर्वाधिक २ विकेट दिइन्। सोमु विष्ट, पूजा महतो र रिया शर्माले समान १ विकेट राखिन्।






-1769057641365.jpeg&w=3840&q=75)






-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)