बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

हिमालयन मनोज, धनगढी। आयुब चन्दको अलराउन्ड प्रदर्शनसँगै टिम बगैँचाले नवौं लिटिल फ्लावर प्राइड लिगमा सान्त्वना जित हात पारेको छ।
बिहीबार सम्पन्न खेलमा बगैँचाले निस्ट कलेजलाई १३३ रनले पराजित गरेको हो। प्रतियोगिताबाट बाहिरिसकेको बगैँचाको यो सान्त्वना जित हो।
यसअघि बगैँचाले राजपुर स्पोर्ट्स क्लबसँग ६ विकेटको हार बेहोरेको थियो। निस्ट भने जितविहीन रह्यो। निस्टले पहिलो खेलमा राजपुरसँग १६७ रनको हार खेपेको थियो। राजपुर भने सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बगैँचा र निस्ट भने बाहिरिसकेका छन्।
बगैँचाले दिएको १९९ रनको विशाल लक्ष्य पछ्याएको निस्टले १४.५ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो।
निस्टका चेतन भुलले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। ओपनर महेश देउवाले १४ रन बनाउँदा अन्यले ब्याटिङ गर्न सकेनन्।
बगैँचाका आयुब चन्दले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। प्रकाश कार्कीले ४ र सुबोध ऐरले १ विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बगैँचाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।
बगैँचाका आयुबले सर्वाधिक ६६ रन बनाए। ३५ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। सुरेन्द्र पन्त ३९, सुनिल धमला ३५ र सुबोध १३ रनमा आउट हुँदा निस्टले २८ रन अतिरिक्त दिएको थियो।
निस्टका महेन्द्र विष्टले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए।
महेश देउवाले २ र दर्शिल विष्ट र रोहन नेपालीले समान १ विकेट लिए।












-1768462517116.jpeg&w=3840&q=75)
-1768446504496.webp&w=3840&q=75)