भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश

काठमाडौं। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षाका कारण भारतमा आफ्ना २०२६ टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अझै पनि कायम रहेको जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भिडियो कन्फरेन्सपछि जारी गरिएको विज्ञप्तिमा बीसीबीले भारतबाहिर आफ्ना खेलहरू सार्न पुनः आग्रह गरेको छ।
भारत र श्रीलंकाको सह–आयोजनामा हुने २०२६ टी–२० विश्वकप आगामी फेब्रुअरी ७ बाट सुरु हुने तय भएको छ। तालिकाअनुसार बंगलादेशका पहिलो तीन खेल कोलकातामा र अन्तिम समूह चरणको खेल मुम्बईमा आयोजना हुनेछन्।
बीसीबी को विज्ञप्तिमा भनिएको छ,‘आईसीसीसँगको छलफलका क्रममा बीसीबीले सुरक्षा चिन्ताको आधारमा भारत नजाने आफ्नो निर्णय दोहोर्याएको छ। साथै बंगलादेशका खेलहरू भारतबाहिर सार्ने विषयमा पुनः विचार गर्न आईसीसीलाई आग्रह गरिएको छ।’
विज्ञप्तिमा थप भनिएको छ,‘आईसीसीले प्रतियोगिताको तालिका पहिल्यै सार्वजनिक भइसकेको बताउँदै बीसीबीलाई आफ्नो अडान पुनः विचार गर्न आग्रह गरेको छ। यद्यपि, बीसीबीको अडान हालसम्म परिवर्तन भएको छैन। दुवै पक्ष सम्भावित समाधानबारे छलफल जारी राख्न सहमत भएका छन्। बीसीबी आफ्ना खेलाडी, अधिकारी तथा स्टाफको सुरक्षालाई प्राथमिकतामा राख्दै आईसीसीसँग रचनात्मक संवादमा प्रतिबद्ध छ।’
उक्त भिडियो कन्फरेन्समा बीसीबी तर्फबाट बोर्ड अध्यक्ष अमिनुल इस्लाम, उपाध्यक्ष शकावत हुसेन र फारुक अहमद, क्रिकेट अपरेशन्स कमिटीका अध्यक्ष तथा निर्देशक नजमुल आबेदिनका साथै प्रमुख कार्यकारी अधिकृत निजामुद्दिन चौधरी सहभागी थिए।
यसअघि सोमबार आईसीसीले बीसीबीसँग सुरक्षा मूल्यांकन प्रतिवेदन सेयर गरेको थियो। उक्त प्रतिवेदनमा भारत भ्रमणका क्रममा बंगलादेशी टोलीलाई कुनै विशेष खतरा नरहेको उल्लेख गरिएको थियो।
प्रतिवेदनअनुसार केही स्थानमा कमदेखि मध्यम जोखिम भए पनि धेरै स्थानमा जोखिम न्यून वा नगण्य रहेको छ।
आईसीसीका अनुसार यस्ता जोखिम स्तरहरू सामान्य मानकभित्र पर्छन् र खेल स्थल परिवर्तन गर्न पर्याप्त कारण मानिँदैनन्।
बंगलादेशले भारतमा खेल्न अस्वीकार गर्ने विषय तब चर्किएको हो, जब भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले कोलकाता नाइट राइडर्सलाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट रिलिज गर्न निर्देशन दिएको थियो।
यस निर्णयको स्पष्ट कारण सार्वजनिक गरिएको छैन। तर, पछिल्लो समय भारत र बंगलादेशबीचको सम्बन्धमा तनाव देखिएको छ।
मुस्ताफिजुरलाई टोलीबाट हटाएपछि बंगलादेशले आफ्नो देशमा इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारणमा रोक लगाएको थियो। त्यसपछि नै बीसीबीले आईसीसीलाई पत्र लेख्दै भारतमा टी–२० विश्वकपका खेलहरू नखेल्ने इच्छा व्यक्त गरेको थियो।












-1768462517116.jpeg&w=3840&q=75)
-1768446504496.webp&w=3840&q=75)