सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा
सोमबार, १४ पौष २०८२खेलपाटी संवाददाता
हिमालयन मनोज, लमजुङ। ‘ए’ डिभिजन क्लब सातदोबाटो युथलाई पराजित गर्दै लालीगुराँस ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिवेणी रंगशालामा सोमबार सम्पन्न खेलमा लालीगुराँसले सातदोबाटोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
अब लालीगुराँसले सेमिफाइनल प्रवेश गर्न ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र बुद्ध युथ क्लबबीचको विजेतासँग खेल्नेछ।
लालीगुराँसको जितमा अनिश महर्जन र अजायी मार्टिन कायोडले समान एक गोल गरे। सातदोबाटोका अमन लामाले सान्त्वना गोल फर्काए।
खेलको ४२औं मिनेटमै अनिशले लालीगुराँसलाई सुरुआती अग्रता दिलाए। तर, दोस्रो हाफको दोस्रो मिनेटमै सातदोबाटोका अमनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
यद्यपि, लालीगुराँस रोकिएन। ८०औं मिनेटमा मार्टिनले गोल गर्दै लालीगुराँसको जित पक्का गरे।












