सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

काठमाडौं। प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धामा आर्सनलले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै महत्त्वपूर्ण जित दर्ता गर्यो।
योसँगै आर्सनल म्यानचेस्टर सिटीलाई उछिन्दै पुन: शीर्ष स्थानमा फर्किएको छ। आर्सनलको १८ खेलबाट ४२ अंक हुँदा सिटी भने २ अंकले पछि छ।
खेलको १४औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसपछि ५२औं मिनेटमा ब्राइटनका जर्जिनियो रुटरबाट आत्मघाती गोल भएपछि आर्सनलले २–० को मजबुत अग्रता बनायो।
ब्राइटनले ६४औं मिनेटमा डिएगो गोमेजको गोलमार्फत खेलमा फर्कने प्रयास गरे पनि बराबरी गोल गर्न सकेन।
बाँकी समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे तापनि थप गोल हुन सकेन।
यस जितसँगै आर्सनलले लिग तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने ब्राइटन पराजयसँगै खाली हात फर्किएको छ।












