एपीएफको जितमा समीरको ह्याट्रिक

हिमालयन मनोज, लमजुङ। समीर थोकरको ह्याट्रिकसँगै साबिक विजेता तथा विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कप फुटबल प्रतियोगितामा रवाफिलो जित निकालेको छ।
त्रिवेणी युवा क्लब, बेसीशहर लमजुङको आयोजनामा त्रिवेणी रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेलमा एपीएफले सुन्दरबजार एफसीला ५–० ले पराजित गरेको हो
एपीएफको जितमा समीरबाहेक प्रदीप लामा र मणिकुमार लामाले समान एक गोल थपे। खेलको २०औं मिनेटमै समीरले एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि उक्त अग्रता दोब्बर बनाए।
३७औं मिनेटमा प्रदीपले गोल गर्दा एपीएफ पहिलो हाफमा ३–० ले अगाडि रह्यो। ६३औं मिनेटमा मणिले अर्को गोल थपे। योसँगै एपीएफले ४–० को अग्रता बनाएको थियो। तर, समीर भने रोकिएनन्।
त्यसको ७ मिनेटपछि नै गोल गर्दै उनले पहिलो ह्याट्रिक गर्ने कीर्तिमान बनाए। उनी नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए र १० हजार रुपैयाँ हात पारे।













