क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

काठमाडौं। नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।
कटुवालले क्रिकेट संघ नेपाल (क्यान) लाई पठाएको राजीनामा पत्रमा नेपाल क्रिकेटको सेवा गर्न पाएको अवसरलाई सम्मान र गौरवको विषय बताएका छन्। उनले नेपाल महिला टोलीसँग काम गर्नु आफ्नो व्यावसायिक जीवनको सबैभन्दा अर्थपूर्ण अध्यायहरूमध्ये एक भएको उल्लेख गरेका छन्।
राजीनामा पत्रमा उनले क्यान, सहयोगी प्रशिक्षक टोली, खेलाडी तथा सम्पूर्ण सरोकारवालालाई कार्यकालभरि प्राप्त गरेको साथ, विश्वास र सहयोगका लागि धन्यवाद दिएका छन्। उनले आफ्नो कार्यकालमा प्रदर्शनसँगै अनुशासन, मानसिक मजबुती र नेपाली महिला क्रिकेटको दीर्घकालीन विकासमा पनि जोड दिइएको उल्लेख गरेका छन्।
कटुवालका अनुसार यो निर्णय सजिलो थिएन, तर टोलीको भविष्यका लागि नयाँ नेतृत्व अन्तर्गत अघि बढ्नु उपयुक्त हुने विश्वासका साथ आफूले पद छोड्ने निर्णय लिएका हुन्। उनले भविष्यमा पनि नेपाल महिला क्रिकेटका समर्थकका रूपमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल महिला क्रिकेटको विकासमा योगदान दिन पाएकोमा आभार व्यक्त गर्दै उनले आफ्नो प्रयासले केही सकारात्मक मूल्य थपिएको आशा पनि व्यक्त गरेका छन्।













