नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम
-1766460697450.webp&w=3840&q=75)
काठमाडौं। ब्राजिलियन स्टार फुटबलर नेयमारले आफ्नो बायाँ घुँडामा सानो शल्यक्रिया गराएका छन्। उनको क्लब सान्तोसले सोमबार यसबारे जानकारी दिएको हो।
३३ वर्षीय नेयमारले यस वर्ष विभिन्न खेलबाट बाहिर राख्ने गरी आएको दुखाइको उपचारका लागि शल्यक्रिया गराउन चाहेको यसअघि बताएका थिए। उनको घुँडामा गरिएको ‘आर्थ्रोस्कोपी’ शल्यक्रिया ब्राजिल राष्ट्रिय टोलीका चिकित्सकसमेत रहेका डा. रोड्रिगो लासमारले गरेका हुन्।
यो न्यून आक्रामक (मिनिमली इनभेसिभ) प्रक्रिया हो। यसले जोर्नीभित्रका समस्याहरूको उपचार गरेको क्लबले जनाएको छ। गत साता साओ पाउलोमा आयोजित एक सङ्गीत कार्यक्रममा नेयमारले आफू अझै विश्वकप खेल्ने र फाइनलमा गोल गर्ने सपना देखिरहेको बताएका थिए।
मे महिनामा नियुक्त भएका ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले भने अहिलेसम्म नेयमारलाई टोलीमा समावेश गरेका छैनन्। सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट खेलका क्रममा एसीएल च्यातिएपछि उनी पूर्ण रूपमा लयमा फर्किन संघर्षरत छन्।
जनवरीमा आफ्नो बाल्यकालको क्लब सान्तोस उनी फर्किएका थिए। अप्रिलमा सुरु भएको ब्राजिलको सेरी एमा सान्तोसले खेलेका ३८ खेलमध्ये नेयमारले मात्र १९ खेल खेले।
उक्त अवधिमा उनले ८ गोल गरेका थिए। अन्तिम चरणका खेलहरूमा गरेका उनका गोलहरूले सान्तोसलाई रेलिगेसनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।











-1766392949541.jpg&w=3840&q=75)
