अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज
-1766026440435.webp&w=3840&q=75)
काठमाडौं। उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले अर्को एक सिजन लिओनल मेसीसँगै इन्टर मियामीमा खेल्ने भएका छन्।
हालको एमएलएस च्याम्पियन मियामीसँग उनले सन् २०२६ सिजनका लागि सम्झौता गरेका छन्। आगामी जनवरीमा ३९ वर्ष पूरा गर्ने सुआरेजको सम्झौतासम्बन्धी आर्थिक विवरण सार्वजनिक गरिएको छैन।
सुआरेजले लगातार दुई पटक ‘एमएलएस एमभीपी’ बनेका मेसीसँगै मियामी अन्तर्राष्ट्रिय विमानस्थलनजिक निर्माण गरिएको टोलीको नयाँ स्टेडियमको उद्घाटन सिजनमा खेल्नेछन्। यो मियामीका लागि सुआरेजको तेस्रो सिजन हुनेछ।
बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड र आयाक्सका पूर्वखेलाडी सुआरेजले गत सिजन सबै प्रतियोगितामा ५० खेल खेल्दै १७ गोल र १७ असिस्ट गरेका थिए।
यद्यपि, एमएलएस कप प्लेअफका अन्तिम चार खेलमा उनको भूमिका सीमित रह्यो र भ्यान्कुभर ह्वाइटक्याप्सविरुद्धको ३–१ को फाइनल जितमा उनी मैदानमा उत्रिएनन्।
सुआरेज २०२४ सिजनअघि मियामीमा आबद्ध भएका थिए र क्लबलाई पहिलो पटक सपोर्टर्स’ शिल्ड उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। सबै प्रतियोगितामा २५ गोल गर्दै उनी टोलीका सर्वाधिक गोलकर्ता बनेका थिए।
नियमित सिजनमा गरेका उनका २० गोल सन् २०२४ मा एमएलएसका सबै खेलाडीमध्ये दोस्रो धेरै (मेसीसँग बराबरी) थिए। सिजन समाप्तिपछि इन्टर मियामीको टोलीमा केही परिवर्तन भएको छ।
अनुभवी खेलाडी जोर्डी आल्बा र सर्जियो बुस्केट्सले खेल जीवनबाट सन्न्यास लिएका छन्। आगामी सिजनका लागि टोलीको रूपरेखा तयार गर्ने क्रममा क्लबले गत साता डिफेन्डर इयान फ्रेलाई २०२८–२९ सिजनसम्म रहने गरी नयाँ सम्झौता गरेको घोषणा गरेको थियो।









-1766070495057.jpeg&w=3840&q=75)

