१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

काठमाडौं। विकेटकिपर ब्याटर कार्तिक शर्मालाई चेन्नई सुपर किङ्सले १४ करोड २० लाख भारु (झन्डै २२ करोड ७२ लाख रुपैयाँ)मा खरिद गरेको छ।
यससँगै उनी संयुक्त रूपमा इन्डियन प्रिमियर लिग (आइपीएल) अक्सनमा बिक्ने सबैभन्दा महँगो ‘अनक्याप्ड’ खेलाडी बनेका छन्। अक्सनअघि नै कार्तिकको नाम निकै चर्चामा थियो।
लामो छक्का प्रहार गर्ने क्षमताका कारण धेरै टोलीको नजर उनीमाथि परेको थियो। अहिलेसम्म खेलेका १२ वटा टी–२० खेलमा कार्तिकले १६४ को स्ट्राइक रेटका साथ २८ छक्का प्रहार गर्दै ३३४ रन बनाएका छन्।
कार्तिकका ब्याटिङ क्लिप सामाजिक सञ्जालमा निकै भाइरल भएका छन्। उनलाई रविचन्द्रन अश्विन तथा केभिन पीटरसनजस्ता खेलाडीले प्रशंसासमेत गरिसकेका छन्। तल्लो क्रमबाट आक्रामक ब्याटिङ गर्ने क्षमताका कारण घरेलु क्रिकेटमा राजस्थान टोलीलाई पनि उनले मजबुत बनाएका छन्।
सैयद मुश्ताक अली ट्रफीको लिग चरणमा राजस्थानले सातमध्ये ६ खेल जित्दै नकआउट चरणमा स्थान बनाएको थियो। यसमा कार्तिकको ठूलो योगदान छ। हाल टोली सुपर लिग चरणमा प्रतिस्पर्धा गरिरहेको छ।
१९ वर्षीय कार्तिकले घरेलु क्रिकेटका तीनै फर्म्याट खेलिसकेका छन्। टी–२० क्रिकेटमा उनको स्ट्राइक रेट १६० भन्दा माथि छ। त्यसैले उनलाई विशेष बनाउँछ। यद्यपि, यस सिजन सैयद मुश्ताक अली ट्रफीमा उनले अर्धशतक बनाउन सकेका छैनन्।
तर, रणजी ट्रफीमा दिल्लीविरुद्ध सानदार शतक प्रहार गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।











