पथरी–११ ट्राइब्रेकरमा विजयी
पथरी, मोरङ। पथरी–११ फुटबल क्लबले दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
केराबारीस्थित सतिसाले खेल मैदानमा मंगलबार सम्पन्न उद्घाटन खेलमा पथरी–११ ले सुनसरीको पानबारी फुटबल क्लबलाई ट्राइब्रेकरमा ५–४ ले हराएको हो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।
खेलको प्रारम्भिक अग्रता पथरी–११ ले नै लिएको थियो। खेलको पहिलो हाफको १६औं मिनेटमा पथरीका सञ्जय लिम्बूले ‘वान भर्सेस वान’ अवसरमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफको ५०औं मिनेटमा पानबारीका दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनको प्रहार पोलमा लागेर फर्किएक थियो। तर, रिबाउन्ड बललाई जालीमा पुर्याएर खेलको स्थिति १–१ मा ल्याए।
निर्धारित समयमा थप गोल नभएपछि खेल ट्राइब्रेकरमा प्रवेश गर्यो। ट्राइब्रेकरमा पथरी–११ का मन्जिल खड्का, सौर्य राउत, धिरेन विष्ट, युकेश तामाङ र सञ्जय लिम्बूले गोल गरे।
पानबारीका दोर्जे तामाङ, मिलन चाम्लिङ राई, विवेक राई र विनोद राईले गोल गरे पनि पथरीका गोलकिपर समीर क्षेत्रीले अफ्रिकन खेलाडी अवेयामी फाल्कुनेको प्रहार बचाएर आफ्नो टोलीलाई जित दिलाए।
उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर समीर क्षेत्री ‘म्यान अफ दी म्याच’ घोषित भए।
तस्बिर : रोशन खड्का













