ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

काठमाडौं। अस्ट्रेलियाली अलराउन्डर क्यामरन ग्रीनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख (झन्डै ४० करोड ३२ लाख रुपैयाँ नेपाली) मा खरिद गरेको छ।
यससँगै उनी इन्डियन प्रिमियर लिग (आइपीएल) अक्सन इतिहासमा तेस्रो सबैभन्दा महँगो खेलाडी बनेका छन्। हालसम्मकै सबैभन्दा महँगो विदेशी खेलाडी पनि उनी नै बनेका छन्।
६४ करोड ३ लाख भारुको सबैभन्दा ठूलो पर्ससहित अक्सनमा सहभागी भएको कोलकाताले कडा प्रतिस्पर्धापछि ग्रीनलाई आफ्नो बनायो। चेन्नई सुपर किङ्ससँग दोस्रो ठूलो पर्स ४३ करोड ४ लाख भारु थियो र उसले पनि अन्तिमसम्म कडा टक्कर दियो।
ग्रीनका लागि बोलीको सुरुआत भने मुम्बई इन्डियन्सले गरेको थियो। तर, पर्समा २ करोड ७५ लाख भारु बाँकी भएकाले उनीहरू छिट्टै बाहिरिनुपर्यो। १६ करोड ५ लाख भारुको पर्स रहेको राजस्थान रोयल्सले बोली १३ करोड ४० लाखसम्म पुर्याएपछि हात झिक्यो। त्यसपछि मात्र चेन्नई बोलीमा प्रवेश गरेको थियो।
ग्रीनका लागि बोली प्रक्रिया १० मिनेटभन्दा बढी समयसम्म चल्यो। अन्ततः उनी ऋषभ पन्त (२७ करोड भारु) र श्रेयस अय्यर (२६ करोड ७५ लाख भारु) पछि आइपीएल इतिहासका तेस्रो महँगो खेलाडी बने।
तर, मिनी अक्सनमा विदेशी खेलाडीका लागि तोकिएको अधिकतम तलब सीमा (क्याप) का कारण ग्रीनले व्यक्तिगत रूपमा १८ करोड भारु मात्र पाउनेछन्। बाँकी ७ करोड २० लाख भारु बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को ‘प्लेअर वेलफेयर कोष’मा जानेछ।
पहिलो सेटका ब्याटरमध्ये ग्रीन बिक्ने दुई खेलाडीमध्ये एक थिए। अर्का खेलाडी दक्षिण अफ्रिकाका डेविड मिलर रहे। दिल्ली क्यापिटल्सले उनको आधार मूल्य २ करोड भारुमा खरिद गर्यो। जेक फ्रेजर–म्याकगर्क, पृथ्वी शा, डेभन कोन्वे र सरफराज खान भने ‘अनसोल्ड’ रहे।
दोस्रो सेटमा पनि बोली खासै उत्साहजनक रहेन। अलराउन्डरको सेटबाट सातमध्ये दुई खेलाडी मात्र बिके। लखनउ सुपर जायन्ट्सले श्रीलंकाका वानिन्दु हसरंगालाई २ करोड भारुको आधार मूल्यमा खरिद गर्यो।
आइपीएल २०२५ अक्सनमा कोलकाताले २३ करोड ७५ लाख भारुमा किनेका वेंकटेश अय्यरलाई रोयल च्यालेन्जर्स बैंग्लोरले ७ करोड भारुमा आफ्नो बनायो। यद्यपि, कोलकाताले अन्तिमसम्म अय्यरका लागि बोली लगाएको थियो।
लियम लिभिङस्टोन, रचिन रविन्द्र, गस एटकिन्सन, वियान मुल्डर र दीपक हुड्डा भने पहिलो सेटका अलराउन्डरमध्ये ‘अनसोल्ड’ नै रहे।











