रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

काठमाडौं। नेपालकी फरवार्ड रेखा पौडेलको ह्याट्रिकसँगै माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन एफएएम महिला फुटबल लिगको उपाधिनजिक पुगेको छ।
सोमबार सम्पन्न खेलमा माजियाले न्यु रेडियन्ट स्पोर्ट्स क्लबलाई ३–० ले पराजित गर्दै लिग जित्ने सम्भावनालाई निकै बलियो बनाएको हो।
यस जितसँगै माजियाले ४ खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा आफूलाई कायम राखेको छ। दोस्रो स्थानमा रहेको ओडी स्पोर्ट्स क्लबले ३ खेलबाट ७ अंक बटुलेको छ। तेस्रो स्थानमा विक्ट्री स्पोर्ट्स क्लब छ। यो टोलीको ३ खेलबाट ५ अंक छ। ४ खेल खेलेको न्यु रेडियन्ट पनि ५ अंकसहित चौथो स्थानमा छ।
यो नतिजापछि न्यु रेडियन्टको लिग उपाधि जित्ने सम्भावना समाप्त भएको छ। उता माजियाका लागि उपाधि जित्ने बाटो अझै सहज बनेको छ। अब माजियाले ओडी स्पोर्ट्स क्लबविरुद्ध खेल्न बाँकी छ। बुधबार ओडी र विक्ट्रीबीच हुने खेलको नतिजापछि माजियाको सम्भावना अझ स्पष्ट हुनेछ।
हेनभेरु मैदानमा भएको खेलमा माजियाकी स्टार खेलाडी रेखाले टोलीको जितमा मुख्य भूमिका खेलिन्। एएफसी महिला च्याम्पियन्स लिग खेलिसकेकी रेखाले खेलको सातौं मिनेटमै गोल गर्दै माजियालाई अग्रता दिलाएकी थिइन्। न्यु रेडियन्टको डिफेन्सबाट आएको बल नियन्त्रणमा लिएर उनले सजिलै गोल गरिन्।
दोस्रो हाफमा माजियाले थप दबाब बनायो र खेलको ४०औं मिनेटमा रेखाले आफ्नो दोस्रो व्यक्तिगत गोल गर्दै अग्रता बढाइन्। यो गोल नेपालकी अर्की खेलाडी दीपा शाहीको पासमा सम्भव भएको हो।
रेखाले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। न्यु रेडियन्टकी हनीफाले पेनाल्टी एरियाभित्र रेखामाथि फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।








-1765820073676.webp&w=3840&q=75)



