इतिहासमै पहिलोपल्ट जापानसँग हार्यो ब्राजिल

काठमाडौं। पहिलो हाफमा दुई गोलको अग्रता लिएर मैदानमा उत्रिएको ब्राजिल दोस्रो हाफमा पूर्ण रूपमा लय गुमाउँदै नाटकीय रूपमा जापानसँग पराजित भएको छ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले मंगलबार टोकियोस्थित अजिनोमोटो स्टेडियममा घरेलु टोली जापानसँग ३–२ को हार बेहोरेको हो।
पहिलो हाफमा पाउलो हेन्रिके र ग्याब्रिएल मार्टिनेलीका गोलबाट ब्राजिललेसहज अग्रता लिएको थियो। तर, दोस्रो हाफमा जापानले अद्भुत पुनरागमन गर्यो। ताकुमी मिनामिनो, केइतो नाकामुरा र आयासे उएदाका गोलले घरेलु टोलीले खेललाई पल्टाउँदै ऐतिहासिक जित हात पार्यो।
यो जितसँगै जापानले इतिहासमा पहिलोपटक ब्राजिललाई हराएको छ। दुवै टिमबीचको यो १४औं भेट हो। ब्राजिल ११ पटक विजयी भएको र २ खेल बराबरीमा टुंगिएको थियो। तर, यसपटक जापानले पाँच पटकको विश्व च्याम्पियनलाई पराजित गर्दै नयाँ अध्याय लेखेको छ।
ब्राजिलले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्रुनो गिमारेस, भिनिसियस जुनियर र मार्टिनेलीलाई दोस्रो हाफमा परिवर्तन गरेको थियो। उक्त निर्णय अन्ततः महँगो साबित भयो। त्यसपछि जापानले तीव्र र लयपूर्ण फुटबल प्रदर्शन गर्दै ब्राजिलको रक्षणपंक्तिलाई धराशायी बनायो।
यो हारले ब्राजिलको विश्वकप तयारीमा गम्भीर प्रश्न उठाएको छ। यता, एसियाली फुटबलको उदीयमान शक्तिको रूपमा जापानले फेरि एकपटक आफ्नो क्षमताको परिचय दिएको छ।