फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

काठमाडौं। जिम्बाब्वेविरुद्धको तेस्रो तथा अन्तिम टी–२० मा २८ रनको जित हात पार्दै नामिबिया ह्वाइटवाश हुनबाट जोगिएको छ।
पहिला दुई खेलमा ३३ रन र ५ विकेटले पराजित भएको नामिबियाका लागि अन्तिम खेल गर या मरजस्तै थियो। तर, त्यही क्षणमा ब्याटिङमा सानदार प्रदर्शन गर्दै ज्यान फ्राइलिङ्कले टिमलाई जितको बाटो देखाए।
बुलावायोमा टस जितेर ब्याटिङ रोजेको नामिबियाले पावरप्लेमै ८५ रन जोड्यो। त्यसक्रममा फ्राइलिङ्कले चौथो ओभरमै अर्धशतक पूरा गरे। १३ बलमा बनेको उनको यो अर्धशतक नामिबियाको इतिहासमै सबैभन्दा छिटो मात्र नभई अन्तर्राष्ट्रिय टी–२० इतिहासको तेस्रो छिटो पनि हो।
यो कीर्तिमानमा अस्ट्रियाका मिर्जा अहसान, टर्कीका मुहम्मद फाहाद र जिम्बाब्वेका तादिवानासे मरुमानी पनि छन्। तर, सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा छ। उनले सन् २०२३ मा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए।
पूर्ण सदस्य राष्ट्रबीच भने कीर्तिमान भारतका युवराज सिंहको नाममा छ। उनले सन् २००७ विश्वकपमा इङ्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।
फ्राइलिङ्क ३१ बलमा ७७ रन बनाएर आउट भए। उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए। उनको इनिङ्सको बलबुतामा नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रनको विशाल योगफल बनायो। जिम्बाब्वाका सिकन्दर रजाले ३ विकेट लिए।
लक्ष्य पछ्याएको जिम्बाब्वेले ४४ रनमै शीर्ष ४ विकेट गुमायो। सुरुआती धक्का दिएपछि कप्तान शन विलियम्सले केही आशा जगाएका थिए। उनी १६२ रनमा आउट भएपछि खेलको समीकरण नै टुट्यो। अन्ततः १ बल बाँकी रहँदा जिम्बाब्वे १९० रनमै अलआउट भयो।
नामिबियाका जेजे स्मिथले २९ रन खर्चिएर ४ विकेट लिए। गेरहार्ड इरास्मस र रुबेन ट्रम्पेलम्यानले समान २–२ विकेट झारे।
यससँगै नामिबियाले तेस्रो खेल जितेर सिरिज २–१ मा समाप्त गर्यो र ह्वाइटवाश हुनबाट बच्यो।