‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का केही कार्यसमिति सदस्यहरूले एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालका ‘होम म्याच’ विदेशी मैदानमा सार्ने निर्णयप्रति असहमति व्यक्त गरेका छन्।
एन्फाले नेपाल र भियतनामबीचको ‘होम एन्ड अवे’ खेल दुवै भियतनाममै आयोजना गर्ने भएको छ। उक्त खेलह अक्टोबर ९ र अक्टोबर १४ मा हुनेछ। योसँगै वरिष्ठ उपाध्यक्ष वीर हादुर खड्का, उपाध्यक्ष विराटजंग शाह, उपाध्यक्ष दीर्घबहादुर केसी, सदस्य रवीन्द्र चन्द र सदस्य रुपेश अधिकारीले असहमति जनाएका हुन्।
‘यस्तो संवेदनशील निर्णयमा न त कार्यसमितिसँग कुनै छलफल भएको छ, न त आधिकारिक सूचना दिइएको छ। वैकल्पिक खेल स्थल खोजिएको छ कि छैन भन्नेबारे पनि स्पष्टता दिइएको छैन,’ पत्रमा भनिएको छ। असन्तुष्ट सदस्यहरूले यस एकतर्फी निर्णयले संस्थागत पारदर्शितामा प्रश्न उठाएको टिप्पणी गरेका छन्।
पत्रमा भनिएको छ,‘नेपालका खेलाडीहरूले घरेलु मैदानमा पाउने आत्मबल, दर्शकको साथ र राष्ट्रिय गौरवका भावना खोसिनु अन्यायपूर्ण मात्र नभई दीर्घकालीन रूपमा खेलाडीहरूको मनोबल र प्रदर्शनमा नकारात्मक असर पार्ने निश्चित छ। लाखौं समर्थकलाई आफ्नै भूमिमा राष्ट्रिय टोलीलाई समर्थन गर्ने अवसरबाट वञ्चित तुल्याउनु फुटबलप्रतिको उत्साह र जनआस्था माथि प्रहार हो।’