सुपर फोमा पुग्यो भारत

काठमाडौं। एसिया कपको 'ए' समूहको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई ४२ रनको विशाल अन्तरले पराजित गरेको छ। यो हारसँगै ओमान समूह चरणबाटै बाहिरिएको छ। अर्कोतर्फ भारत सुपर फोमा पुग्ने पहिलो टोली बनेको छ।
भारतले समूह चरणमा आफ्ना दुवै खेल जितेको छ। पाकिस्तान दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ। युएईको पनि दुई अंक छ, तर रनरेटको हिसाबले तालिकामा तेस्रो स्थानमा छ।
सोमबार (सेप्टेम्बर १५) अबुधाबीको शेख जायद रंगशालामा ओमानले टस जितेर युएईलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेको थियो।
पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले दुई ओपनरको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। अलिशान शराफले ३८ बलमा ५१ रन बनाए भने कप्तान मुहम्मद वसीमले ५४ बलमा ६९ रन बनाए।
लक्ष्य पछ्याउन ब्याटिङमा आएको ओमानको सुरुआत राम्रो भएन। ओमानले ४.३ ओभरमा ३२ रन बनाएपछि ४ विकेट गुमायो। आर्यन बिष्ट र विनायक शुक्लाले छैटौं विकेटका लागि ३६ बलमा ३८ रनको साझेदारी गरे। तर, जितका लागि त्यो पर्याप्त भएन।
बिशतले ३२ बलमा २४ रन बनाए भने ओपनर जतिन्दरले १० बलमा २० रन बनाए। अन्त्यमा ओमान १८.४ ओभरमा १३० रनमा अलआउट भयो। युएईका लागि जुनैद सिद्दिकीले २३ रन दिएर ४ विकेट लिए।
यसअघि ब्याटिङ गर्न निस्कँदा युएईले राम्रो सुरुआत गर्यो। ओपनरहरू अलिशान शराफ र मुहम्मद वसीमले ओपनिङ साझेदारीमा ८८ रन जोडे। जितेन रामानन्दीले शराफलाई आउट गर्दै साझेदारी तोडे।
तेस्रो नम्बरमा आउने मौकाको फाइदा उठाउन आसिफ खानले सकेनन्। उनी ५ बलमा २ रन बनाएर आउट भए। मुहम्मद जोहैब १३ बलमा २१ रन बनाएर आउट भए। कप्तान मुहम्मद वसीम इनिङ्सको अन्तिम ओभरमा रन आउट भएपछि फर्किए।
अन्त्यमा युएईले ५ विकेट गुमाएर १७२ रन बनाउन सफल भयो। हर्षित कौशिक ८ बलमा १९ रनमा अविजित रहे। ओमानका लागि जितनले २ विकेट लिए। हसनैन शाह र श्रीवास्तवले १-१ विकेट लिए।